इंग्ल्यान्डका ब्याट्सम्यान डेभिड मालनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा गरेका छन् । ३६ वर्षीय मालन टेस्ट, एकदिवसीय र टी–२० खेलमा शतकीय खेल्ने इंग्ल्यान्डका लागि दोस्रो खेलाडी हुन् । यसअघि जोस बटलरले तीनवटै फर्म्याटमा शतकीय इनिङ्स खेलेका थिए । इंग्ल्यान्डबाट मालनले २२ टेस्ट, ३० एकदिवसीय तथा ६२ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन् ।
टी–२० का आक्रामक ब्याट्सम्यान मालन सन् २०२० को आइसिसी टी–२० वरीयताको शीर्ष स्थानमा पुगेका थिए । उनले अन्तर्राष्ट्रिय टी–२० खेलमा हजार रन केवल २४ इनिङ्समा पूरा गरेका थिए । बायाँहाते ब्याट्सम्यान मालन सन् २०२२ को टी–२० विश्वकपमा सहभागी थिए । गत वर्ष भारतमा भएको एकदिवसीय विश्वकपछि उनी इंग्लिस टोलीमा छैनन् ।
‘सन् २०१७ देखिको यात्रा स्मरणीय रह्यो,’ उनले भने, ‘इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट तीनवटै फर्म्याटमा खेल्न पाउँदा खुसी लागेको छ ।’ मालनले क्रिकेटबाट सन्न्यास लिने सही समय भएको जनाए । ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने यो नै सही समयजस्तो लागेको छ । यसकारण आजको दिनबाटै सन्न्यास घोषणा गरेको हुँ,’ उनले भने, ‘खेल जीवनमा एक न एक दिन खेलाडीले सन्न्यास लिनु नै पर्छ ।’