धनगढी उपमहानगरपालिकाले आचार्य कृष्णबहादुर दमाईंलाई नगदसहित सम्मान गरेको छ। उपमहानगरले आज एक कार्यक्रम गरेर आचार्य दमाईंलाई नगद एक लाख ५१ हजार रुपैयाँसहित सम्मान गरेको हो। समाजमा जातीय छुवाछुतजस्तो कुरीति विद्यमान रहेको परिस्थितिमा दलित समुदायबाट पहिलो आचार्य उपाधि प्राप्त गरी सुदूरपश्चिमकै गरिमा बढाउने काम गरेकोले उनलाई सम्मान गरिएको उपमहानगरले जनाएको छ।
नगरप्रमुख गोपाल हमालले आचार्य दमाईंलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको बताए। आर्थिक अभावले समस्यामा रहेका आचार्य दमाईंले चाहेमा उनलाई उपमहानगरपालिकामा रोजगारी दिन तयार रहेको पनि नगरप्रमुख हमालले बताए।
‘आचार्य दमाईंले प्रवचन गर्ने गरी भागवत लगाउन उपमहानगरबाट पहल गर्ने भन्ने लागेको थियो, तर सामाजिक सञ्जालमार्फत उहाँ समस्यामा रहेको थाहा पाएपछि तुरुन्तै सम्मान गर्ने निधो गर्यौँ,’ उनले भने, ‘आचार्य दमाईंले चाहनु भए समाज रूपान्तरणको लागि मार्गदर्शकको रूपमा काम गर्ने गरी उपमहानगरपालिकामा उहाँलाई रोजगारी दिन तयार छौँ।’ हमालले सुदूरपश्चिमको पहिचानको रूपमा स्थापित भएको छुवाछुत, छाउपडीजस्ता कुप्रथालाई सबै मिलेर मेटाउनुपर्ने बताए।
कञ्चनपुरको महेन्द्रनगर घर भएका दमाईंले नेपाल संस्कृत विश्वविद्यालय दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्। शिल्पी समुदायबाट आचार्य उपाधि उत्तीर्ण गर्ने उनी नेपालकै पहिलो व्यक्ति भएको बताइएको छ। सम्मानपछि आचार्य दमाईंले सम्माने आफूले सनातन हिन्दु धर्मसंस्कृतिको संरक्षणमा लाग्न थप प्रोत्साहन र प्रेरणा मिलेको बताए।