संखुवासभामा टेम्पो चोरी गर्ने दुईजना पक्राउ परेका छन्। टेम्पो चोरीको आरोपमा खाँदबारी नगरपालिका–९, सार्कीडाँडा बस्ने वर्ष १८ का हरि मंग्राती र सोही स्थान बस्ने वर्ष १९ का किरण रम्तेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
उनका अनुसार खाँदबारी नगरपालिका–८, विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरी राखेको को २ ह १५५० नम्बरको टेम्पो बुधबार राति करिब ९ बजेतिर हराएको भनी प्रहरी कार्यालयमा उजुरी परेको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहीबार खाँदबारी नगरपालिका-९, भेडेटारस्थित सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको हो। त्यसपछि खोजतलास गर्ने क्रममा तुम्लिङटारबाट आज शुक्रबार दुईजना पक्राउ गरेको हो।
निजहरूउपर संखुवासभा जिल्ला अदालत चैनपुरबाट म्याद थप भई मुलुकी अपराध संहिता, २०७४ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।