परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सोमबार शिष्टाचार भेट गरेकी छिन् । नयाँदिल्लीको सात लोककल्याणमार्गस्थित प्रधानमन्त्रीनिवासमा उनीहरूबीच आधा घण्टा कुराकानी भएको हो ।
परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबिच नेपाल–भारत सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ । ‘नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी छु । नेपाल र भारतले बहुआयामिक तथा प्रगतिशील साझेदारी तथा निकट सभ्यताको सम्बन्ध साझा गर्दछन्,’ भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘हाम्रो विकास साझेदारीमा निरन्तर गतिको प्रतीक्षामा छु ।’
भेटवार्तामा सहभागी नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाका अनुसार परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबिच नेपाल–भारत सम्बन्ध सुदृढका बहुआयामिक विषयमा कुराकानी भएको छ । समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा आइतबारदेखि भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा बहुआयामिक विविधताका विषयमा छलफल भएको बताइन् । ‘नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो,’ भेटपछि परराष्ट्रमन्त्री राणाले एक्समा लेखेकी छिन्, ‘मैले प्रधानमन्त्री मोदीको राजकीय भ्रमणका लागि प्रधानमन्त्री ओलीको निमन्त्रणा हस्तान्तरण गरेकी छु ।’
भेटमा परराष्ट्रमन्त्री राणाले मोदीलाई नेपालको राजकीय भ्रमण गर्न प्रधानमन्त्री केपी ओलीले पठाएको निमन्त्रणापत्र हस्तान्तरण गरेकी छिन् । नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट शुभकामनासमेत सुनाएकी छिन् ।
मोदीले भेटमा निमन्त्रणाप्रति धन्यवाद व्यक्त गर्दै चाँडै नै नेपाल भ्रमणमा आउने इच्छा जनाएका छन् । ‘मलाई नेपाल भ्रमण गर्ने इच्छा छ । उपयुक्त समयमा चाँडै नै नेपाल आउन इच्छुक छु,’ भेटमा सहभागी अधिकारीहरूका अनुसार मोदीको जवाफ थियो । यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीको शपथग्रहणमा जेठ अन्तिम साता दिल्ली जाँदा पहिलो भ्रमण नेपालमा गर्न मोदीलाई अनुरोध गरेका थिए । मोदीले त्यसवेला पनि सकारात्मक जवाफ दिएका थिए ।
प्रधानमन्त्री मोदीसँगको भेटमा परराष्ट्रमन्त्री राणा, कार्यवाहक राजदूत थापा, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख भृगु ढुंगाना र नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिलर दुरपदा सापकोटा थिए । मोदीसँग विदेशमन्त्री डा. एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिश्री र भारतीय राजदूत नवीन श्रीवास्तवलगायत सहभागी थिए ।
समकक्षी वार्तामा सम्बन्धको समीक्षा : नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि भारतको स्वीकृति
सोमबार दिउँसो परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच हैदराबाद हाउसमा औपचारिक वार्ता भएको छ । दिवाभोजसहितको वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा भएको छ ।
व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, एयर रुट, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका विषयमा छलफल भएको नेपाली दूतावासले जनाएको छ । नियमित द्विपक्षीय संयन्त्रहरूमार्फत दुई पक्षबीच निरन्तर संवाद हुनुपर्नेमा दुवै परराष्ट्रमन्त्री सहमत भएका छन् । ‘यो भ्रमणबाट सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा मैले गरेकी छु,’ परराष्ट्रमन्त्री राणाले भनेकी छिन् ।
भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार परराष्ट्रमन्त्रीहरूको वार्तामा द्विपक्षीय साझेदारीका व्यापक पक्षबारे छलफल भएको थियो । ‘उहाँहरूले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरूमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरहरूबारे पनि छलफल गर्नुभयो,’ विदेश मन्त्रालयले भनेको छ । पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत डिजिटल कनेक्टिभिटीका क्षेत्रबारेमा छलफल भएको छ ।
नेपालले अब करिब १००० मेगावाट विद्युत् निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरूको सिर्जना गर्ने विषयमा छलफल भएको छ । सोमबारै भारतले नेपालबाट थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृति दिएको छ ।
भेटपछि विदेशमन्त्री जयशंकरले ऊर्जा, व्यापार, कनेक्टिभिटी, पूर्वाधार विकासलगायत बहुआयामिक सहकार्यबारे छलफल भएको बताएका छन् । ‘नेपालले भारतलाई करिब एक हजार मेगावाट विद्युत् निर्यात गर्ने भएकोमा खुसी लागेको छ । दुई देशको सम्बन्धमा यो एउटा नयाँ कोसेढुंगा हो,’ जयशंकरले एक्समा लेखेका छन् । भारतले थप २५१ मेगावाट विद्युत् खरिदका लागि स्वीकृति दिएको विवरण जयशंकरले बैठकमा सुनाएका थिए । परराष्ट्रमन्त्री राणाले यसका लागि धन्यवाद दिएकी छिन् ।
नेपाली क्रिकेट टोलीका लागि हालै भारतको बेंग्लोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको परराष्ट्रमन्त्री राणाले सराहना गरेकी थिइन् ।