परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेकी छिन् । उनले सोमबार समकक्षी डा. एस जयशंकरसँग द्विपक्षीय वार्ता गर्ने र साँझ प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्ने तय भएको छ ।
परराष्ट्रमन्त्री राणाले समकक्षी जयशंकरसँग सोमबार भेटवार्ता गर्ने पहिले नै तय थियो । तर, प्रधानमन्त्री मोदीसँग सोमबारका लागि भेटवार्ताको कार्यक्रम उनी दिल्ली पुगेपछि तय भएको भारतका लागि नेपाली कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले बताए । ‘कुनै अप्रत्याशित परिस्थिति आएन भने परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीको सन्देश र निमन्त्रणापत्र मोदीजीलाई हस्तान्तरण हुनेछ,’ डा. थापाले आइतबार साँझ नयाँ पत्रिकासँग भने ।
परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि नयाँदिल्लीसँग परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय वार्ता हुन लागेको हो । यसअघि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीका रूपमा कमल थापाले ०७२ सालमा प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले २०७३ सालमा मोदीसँग भेटवार्ता गरेका थिए ।
राणाले सोमबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग भेटवार्ता गर्ने र उनलाई राखी बाँधिदिने कार्यक्रम पनि छ । सोमबार उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि मंगलबार उनले स्वास्थ्य जाँच गराउनेछिन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री राणाको साथमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख भृगु ढुंगाना पनि छन् । परराष्ट्रमन्त्री राणालाई भारत सरकारले सेराटन होटेलको स्विट रुममा राखेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राणाको भारत भ्रमण स्वीकृत गरेको थियो । परराष्ट्रमन्त्री राणा नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजन प्रमुख भृगु ढुंगाना, दिल्लीस्थित कार्यबाहक राजदूत डा. थापा र राजनीतिक काउन्सिलर दुरपदा सापकोटा सहभागी हुनेछन् । प्रधानमन्त्री मोदी र विदेशमन्त्री जयशंकरसँगको भेटमा यो प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
भारतीय विदेशसचिव विक्रम मिश्रीले विदेशमन्त्री डा.जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसको एक सातापछि राणालाई भारतीय विदेश मन्त्रालयका अधिकारीले सोमबार साउथ ब्लकमा स्वागत गर्नेछन् ।
आइतबार अपराह्न दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान) प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।
उनी आइतबार साँझ नेपाली कार्यवाहक राजदूत थापाद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुन नेपाली राजदूतावास पुगेकी थिइन् । सोमबार उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि मंगलबार उनले स्वास्थ्य जाँच गराउनेछिन् । उनी बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।