तीन वर्षअघि जनैपूर्णिका दिन ६ भदौ ०७८ मा डा. विजय चौथाइवालेलाई राणाले पहिलोपटक राखी बाँधेकी थिइन् । त्यसवेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । चौथाइवालेले बालुवाटारमा राखी बाँधेका थिए । यसपटक दिल्लीमा संयोग जुरेको छ । मंगलबार स्वास्थ्य जाँच गर्ने र बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको चारदिने औपचारिक भ्रमणमा आइतबार दिल्ली जाने भएकी छिन् । दिल्लीमा उनले समकक्षी डा. एस जयशंकरसँग औपचारिक वार्ता र भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई ‘राखी’ बाँध्नेदेखि नियमित स्वास्थ्योपचार गर्नेसम्मको कार्यक्रम तय भएको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृत गरेअनुसार परराष्ट्रमन्त्री राणासँग परराष्ट्र मन्त्रालयको दक्षिण एसिया डिभिजनका भृगु ढुंगाना दिल्ली जानेछन् । भ्रमण दलमा दिल्लीस्थित कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा र राजनीतिक काउन्सिलर दुरपदा सापकोटा सहभागी हुनेछन् ।
परराष्ट्रमन्त्री भएपछि राणाको पहिलो विदेश भ्रमण हुन लागेको हो । भारतीय विदेशसचिव विक्रम मिश्रीले सोमबार विदेशमन्त्री डा. एस जयशंकरका तर्फबाट परराष्ट्रमन्त्री राणालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । परराष्ट्र स्रोतका अनुसार उनले समकक्षी जयशंकरसँग सोमबार साउथ ब्लकमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट भारतीय राष्ट्रपति द्रौपदी मुर्मूका लागि नेपाल भ्रमणको निमन्त्रणापत्र लिएर जानेछिन् ।
‘भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ताका लागि आग्रह गरिएको छ । उताबाट समय आइसकेको छैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘परराष्ट्रमन्त्रीको भ्रमणका वेलामा भारतमा दुई देशको उच्चस्तरीय प्रतिनिधिमण्डल आउने भएकाले भेटवार्ता हुने पक्का छैन ।’ भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटेरै निमन्त्रणा हस्तान्तरण गर्ने परराष्ट्रमन्त्रीको इच्छालाई भारतीय विदेश मन्त्रालयले सकारात्मक जवाफ दिएको उनी निकटस्थहरूले बताए ।
तीन वर्षपछि ‘राखी’ संयोग
परराष्ट्रमन्त्री डा .आरजु राणा देउवाले तीन वर्षपछि भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलाई राखी बाँधिदिने कार्यक्रम छ । नयाँदिल्लीमा उनले सोमबार (३ भदौमा ) चौथाइवालेलाई राखी बाँध्ने कार्यक्रम छ । ‘नेपाली कांग्रेस र भाजपाको सम्बन्धबारे उहाँहरूबीच छलफल हुने कार्यक्रमसँगै यसपालि परराष्ट्रमन्त्रीले चौथाइवालेलाई राखी बाँदिदिनुहुनेछ,’ परराष्ट्रमन्त्रीनिकट स्रोतले भन्यो ।
तीन वर्षअघि जनैपूर्णिका दिन ६ भदौ ०७८ मा चौथाइवालेलाई राणाले पहिलोपटक राखी बाँधेकी थिइन् । त्यसवेला कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए । चौथाइवालेले बालुवाटारमा राखी बाँधेका थिए । यसपटक दिल्लीमा संयोग जुरेको छ । उनले मंगलबार स्वास्थ्य जाँच गर्ने र बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
बिमस्टेक सम्मेलन नभए प्रधानमन्त्री भारत जाने
प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आइतबार भारतीय विदेशसचिवमार्फत निमन्त्रणा दिएको सार्वजनिक भयो । उच्च कूटनीतिक स्रोतका अनुसार त्यही दिन मोदीका तर्फबाट पनि प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिइएको छ ।
‘प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले भारत भ्रमणका लागि निमन्त्रणा दिनुभएको छ । यदि ४ सेप्टेम्बरमा थाइल्यान्डमा बिमस्टेक शिखर सम्मेलन भएन भने प्रधानमन्त्रीको भारत भ्रमण हुने सम्भावना छ,’ ती अधिकारीले नयाँ पत्रिकासँग भने ।
थाइल्यान्डमा प्रधानमन्त्री स्रेथा थाभिसिन अदालतको आदेशअनुसार पदमुक्त भएसँगै शुक्रबार पेटोङटार्न सिनावात्रा प्रधानमन्त्री निर्वाचित भएकी छिन् । बिमस्टेक सम्मेलन १९ भदौका लागि तय भएकोमा बंगलादेश र थाइल्यान्डमा सरकार परिवर्तनका कारण अन्योलमा छ ।
प्रधानमन्त्री ओलीले बिमस्टेक सम्मेलनको भोलिपल्ट २० र २१ भदौमा थाइल्यान्डका राजा र प्रधानमन्त्रीसँग भेटवार्ता तय थियो । ‘विमस्टेक सम्मेलनमा जाने क्रममा प्रधानमन्त्रीको औपचारिक थाइल्यान्ड भ्रमणका रूपमा गराउने तयारी थियो । तर, पछिल्लो परिवर्तनपछिको अवस्थामा के हुन्छ भन्ने केही दिनमा थाहा होला,’ परराष्ट्रका अधिकारीले भने, ‘बिमस्टेक सम्मेलन नहुने स्थिति भयो भने प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ । त्यो अवस्थामा प्रधानमन्त्री ५ असोजमा संयुक्त राष्ट्रसंघीय महासभा (न्युयोर्क)का लागि जानुभन्दा अघि नै भारत भ्रमण पनि हुन सक्छ ।’
अमेरिकी उपविदेशमन्त्रीको भ्रमण, उच्चस्तरीय भेटवार्ता
व्यवस्थापन तथा स्रोतसम्बन्धी मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्माले शुक्रबार प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा एमसिसिए नेपाल र युएसएआइडीका अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन् । नेपालले संक्रमणकालीन न्याय टुंग्याउन लागेकोमा बर्माले प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन् ।
शुक्रबार बिहान नेपाल आएका उनले नेपाली सेनाका लागि दुईवटा हेलिकोप्टर खरिदका लागि सहयोग गर्ने वचन दिएका छन् । उनले प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री राणासँगको भेटमा यो सुनाएका थिए । ‘उपविदेशमन्त्री बर्माको नेपाल भ्रमण सफल रह्यो,’ शुक्रबार साँझ अमेरिकी राजदूतावासले भनेको छ । अमेरिकी सहयोग र नेपाल–अमेरिका साझेदारीका विषयमा सबैसँग छलफल भएको अमेरिकाले जनाएको छ ।
‘उपविदेशमन्त्री बर्माले नेपाली सेनालाई विपत् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकोप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाउनुभयो,’ अमेरिकी दूतावासले भनेको छ ।
उपविदेशमन्त्रीसँगको छलफलमा एमसिए–नेपाल टोलीले एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनको अवस्था र पछिल्ला उपलब्धिबारे जानकारी गराएको थियो । उपविदेशमन्त्री बर्माले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका आयोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।