फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पे किन स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएको भन्ने प्रमाणित गरेका छन् । म्याड्रिडले बुधबार राति छैटौँपटक युइएफए सुपर कपको उपाधि जित्दा एम्बाप्पेले आफ्नो डेब्यु स्मरणीय बनाउन सफल भएका छन् । इटालियन क्लब एटलान्टालाई २–० ले म्याड्रिडले हराउँदा एम्बाप्पेले डेब्यु खेलमै गोलसमेत गरे । डेब्यु खेलमै उपाधि जित्दा उनी निकै दंग छन् । ‘रियल म्याड्रिडमा खुसीको कुनै सीमा छैन,’ एम्बाप्पले भने, ‘म यहाँ किन आएको यसले प्रमाणित गर्छ ।’ खेलको ७०औँ मिनेटमा उनको गोलमा म्याड्रिड २–० ले विजयी भएको हो ।
यसै सिजनमा फ्रेन्च लिग वानको चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट एम्बाप्पे म्याड्रिडमा आबद्ध भएका हुन् । पिएसजीका लागि सर्वकालीन गोल स्कोरर बनेका उनले एटलान्टाविरुद्ध प्रभावशाली प्रदर्शन गरेका थिए । ‘वास्तवमै आजको रात रमाइलो बन्यो । म यसैको प्रतीक्षामा थिएँ । स्पेनिस क्लबमा आबद्ध भएर गोल मात्र होइन, धेरैभन्दा धेरै उपाधि जित्ने लक्ष्यका साथ आएको हुँ,’ स्पेनिस भाषामै उनले अन्तर्राष्ट्रिय मिडियालाई प्रतिक्रिया दिए, ‘यो सेतो जर्सीमा समर्थकलाई उपाधि दिलाउँदा ज्यादै खुसी भएको छु ।’
प्रशिक्षक कार्लोस एन्सोलोटीले भिनिसियस जुनियर, जुडे वेलिंघम, रोड्रिगो तथा एन्ड्रिकसँगै एम्बाप्पेलाई प्राथमिकतामा राख्दा एटलान्टाको सुपर कपमा केही सिप लागेन । युरोपियन तथा स्पेनिस ला लिगा च्याम्पियन म्याड्रिडले उपाधि भिडन्तमा उच्चस्तरको प्रतिस्पर्धा गरेको थियो ।
सिजनमा ५० गोलको लक्ष्य
युवा स्ट्राइकर एम्बाप्पेले यस सिजनमा कम्तीमा म्याड्रिडबाट ५० गोल गर्ने लक्ष्य राखेको स्पष्ट पारेका छन् । ‘म अहिले रियल म्याड्रिडमा छु, मेरो लक्ष्य सिजनमा ५० गोल गर्ने हो । अझ यसमा बढ्न पनि सक्छ,’ आत्मविश्वासी एम्बाप्पेले भने, ‘तर योभन्दा पनि टिमवर्क महत्वपूर्ण हुन्छ ।’ प्रशिक्षक कार्लोसले पनि फ्रेन्च खेलाडीको प्रशंसा गरेका छन् ।
‘एट्लान्टाविरुद्धको खेलमा एम्बाप्पेले उत्कृष्ट खेले । छोटो समयमै अन्य खेलाडीसँग घुलमेल भए । अझ भिनिसियस जुनियर र वेलिंघमले पनि राम्रो साथ दिए,’ कार्लोसले भने, ‘म रियललाई पुनः युरोपकै उत्कृष्ट क्लब बनाउने अभियानमा छु ।’ प्रशिक्षकका रूपमा उनको यो पाँचौँपटक सुपर कप हो । उनले पेप ग्वार्डिओलाको कीर्तिमान तोडे । पेपले चारपटक बार्सिलोना सुपर कप जितेका छन् ।