को हुन् हमासका नयाँ नेता सिनवार ?

केही दिनअघि इरानमा हत्या गरिएका इस्माइल हानियेको स्थानमा चुनिएका याह्या सिनवार इजरायलको आक्रमण सूचीको शीर्ष स्थानमा छन्

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

सन् २०१३ मा सिनवार हमासको पोलिटब्युरोमा निर्वाचित भए । चार वर्षपछि उनी गाजा क्षेत्रको नेता बने । समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी इजरायली सुरक्षा अधिकारीको निसानामा पर्न थाले । इजरायलले उनलाई मार्ने षड्यन्त्र गरिरहेको छ ।

हमासले हालै आफ्नो नेतामा याह्या सिनवारलाई प्रमुख राजनीतिक नेताको रूपमा चयन गरेको छ । सिनवारले समूहका पूर्वप्रमुख इस्माइल हानियेको स्थान लिनेछन् । कतारमा बस्दै आएका हानिये इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिन जाँदा त्यहीँ मारिएका थिए । धेरैले हानियेको हत्या इजरायलले गरेको विश्वास गरेका छन्, तथापि इजरायलले औपचारिक रूपमा यसको जिम्मेवारी लिएको छैन । जे भए पनि यस हत्याले मध्यपूर्वको तनाव अक्टोबरयताकै उच्च बिन्दुमा पुगेको छ । गाजामा युद्धविराम गर्ने सम्बन्धमा चलिरहेको वार्ताको नेतृत्व गरिरहेका हानियेभन्दा फरक रूपमा सिनवार गाजा क्षेत्रका सुरुङबाट काम गरिरहेका छन् । उनी अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ । सो आक्रमणका क्रममा करिब ११३९ मानिस मारिएका थिए भने २०० भन्दा बढीलाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो ।

अक्टोबर ७ को आक्रमणपछि इजरायलले गाजा क्षेत्रमा भीषण प्रत्याक्रमण गरिरहेको छ । प्रत्याक्रमण अभियानमा झन्डै ४० हजार प्यालेस्टाइनी मारिइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । रोग, भोकमरी र युद्धका अन्य परिणामबाट हुने मृत्युलाई समेत जोड्ने हो भने मृतकको संख्या धेरै बढी आउन सक्छ । गाजामा बालबालिका, महिला, युवा र वृद्धवृद्धाको नरसंहारको पृष्ठभूमिमा हानियेको हत्याले ‘हमास र यसका नेताहरू जनतासँगसँगै युद्धभूमिमा रहेको कुरामा प्रकाश पार्छ ।’ र, हमास युद्धमैदानमा मात्र होइन, राजनीतिमा पनि बलियो रहेको समूहका प्रवक्ता ओसामा हमदानले बताउँछन् । ‘आज हामीले चुनेको नेतृत्वले अक्टोबर ७ देखि यस युद्धलाई हाँकिरहेको छ र अझै पनि मैदानमा अडिग छ,’ हमदानले भने ।

सिनवार उक्त हमलापछि इजरायलले आक्रमण गर्ने भनेर निकालेको उच्च सूचीको शीर्ष स्थानमा छन् । इजरायली सरकारमा रहेका शीर्ष इजरायली राजतीतिक नेताहरूले बारम्बार उनको हत्या गर्ने वाचा गर्दै आएका छन् । ‘इस्माइल हानियेको स्थानमा उग्र आतंकवादी याह्या सिनवारको चयनले उनी र उनको नीच संगठनलाई यस पृथ्वीबाटै नामेट गर्नुपर्ने देखिन्छ,’ इजरायली विदेशमन्त्री इजरायल काट्जले सिनवारको चयनपछि समाजिक सञ्जालमा एक्समा भने । ‘युद्धविराम सम्बन्धमा मुख्य निर्णयकर्ता सिनवार थिए र छन्,’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिनावराको चयनपछि वासिंटन, डिसीबाट प्रतिक्रिया दिँदै भने, ‘अधिकांश प्यालेस्टिनीले चाहेको युद्धविराम सम्बन्धमा अघि बढ्ने कि नबढ्ने भन्ने कुराको जिम्मेवारी पूर्णतः उनकै काँधमा आएको छ । ठूलो संख्यामा प्यालेस्टिनी महिला, बालबालिका, पुरुषहरू दोहोरो भिडन्तमा फसेका छन् । अब सबै निर्णय उनले नै गर्नुपर्नेछ ।’

शक्ति केन्द्रीकरण
सन् २०१३ मा सिनवार हमासको पोलिटब्युरोमा निर्वाचित भएका थिए । त्यसको चार वर्षपछि उनले गाजा क्षेत्रको नेताको रूपमा हानियेलाई प्रतिस्थापन गरे । समयक्रममा हमासभित्र सिनवारको प्रभाव र कद बढ्दै जाँदा उनी इजरायली सुरक्षा अधिकारीको निगरानीमा पर्न थाले । इजरायलले उनलाई मार्ने योजना पनि बनाउन थाल्यो । मारिभ अखबारमा प्रकाशित रिपोर्टअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विगतमा सिनवारलाई मार्ने योजना अन्तिम समयमा रोकेका थिए । तथापि, नेतान्याहुको कार्यालयले उक्त समाचारको खण्डन गरेको थियो ।

गाजा क्षेत्रका लागि हमास नेताको हैसियतमा सिनवारले समूहको सैन्य क्षमता र वैदेशिक सम्बन्धको निर्माणमा ध्यान केन्द्रित गरे । यस क्रममा उनले इजिप्टसँग सम्बन्ध पुनस्र्थापित गरे भने इरानसँग सम्बन्ध पुनर्निर्माण गरे । सिनवारको तीव्र उदयमा उनको बाह्य पहिचानले पनि काम गरेको हुन सक्ने विश्लेषण भइरहेको छ । हुन पनि उनी अहिले हमास नेतामध्ये सबैभन्दा बढी परिचित नेता हुन् ।

उदाहरणका लागि हमासले अक्टोबर ७ मा इजरायली भूमिमा गरेको आक्रमणको मुख्य योजना बनाउनेमा सिनवारसँगै हमासको सशस्त्र शाखा कसाम ब्रिगेडका प्रमुख मोहम्मद डेइफ पनि संलग्न थिए । इजरायलले जुलाई १३ मा भएको एक आक्रमणमा डेइफको हत्या भएको दाबी गरेको भए पनि हमासले त्यसको पुष्टि गरेको छैन । दुईजनामध्ये सिनवार सार्वजनिक रूपमा देखा पर्ने र गाजाका प्यालेस्टिनीहरूलाई सम्बोधन गर्ने परिचित अनुहार हुन् भने डेइफ वर्षौंदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । यही कारणले मिडियासँग समेत उनका थोरै मात्र तस्बिर उपलब्ध छन् । विश्लेषकहरूका अनुसार पछिल्लो हमास इजरायल द्वन्द्व सुरु भएदेखि युद्धविरामका लागि भएका वार्ता र हमास–इजरायलबीच बन्दीहरूको आदानप्रदानमा सिनवार हाबी छन् ।

‘हमास प्रमुखका रूपमा सिनवारको चयन संगठनमा उनको शक्ति केन्द्रीकरणको बलियो परिणाम हो,’ सिनवारको नियुक्तिबारे टिप्पणी गर्ने क्रममा मिडल इस्ट काउन्सिलका फेलो ओमर रहमानले भने । ‘अक्टोबर ७ यता इजरायलले सिनवार र हमास दुवैलाई सिध्याउन धेरै मिहिनेत गरिरहेको छ, तर दश महिनापछि उनै सिनवार अझै सक्रिय हमासका प्रमुख चुनिएका छन्,’ रहमानले भने । हानियेको हत्यापछि सिनवारको छनोट ‘प्रतीकात्मक’ भएको दोहा इन्स्टिच्युट्सअन्तर्गतको अरब सेन्टर फर रिसर्च एन्ड पोलिसी स्टडिजका हानि अवदले भने । ‘यसले गाजा र यसको प्रतिरोधको पछाडि हमास नेतृत्वको हात रहेको देखाउँछ,’ उनले भने ।

युद्धविराम वार्ताको भविष्य
हमासमा समूहको राजनीतिक गुटले नीति व्यवस्थापन गर्छ भने सैन्य शाखा कसाम ब्रिगेड प्यालेस्टाइनी भूमिको इजरायली अतिक्रणविरुद्ध सशस्त्र प्रतिरोधमा संलग्न छ । गाजाका सुरुङभित्र घेराबन्दीमा रहेर सिनवारले कसरी नीतिगत व्यवस्थापनको जिम्मेवारी पूरा गर्लान् हेर्न बाँकी छ । तेहरानमा हत्या हुनुअघि हानियेले हमासले इजरायलका मध्यस्थकर्तासँग गर्ने वार्ताको नेतृत्व गरेका थिए । केहीले, हानियेभन्दा अघि सन् १९९६ देखि २०१७ बीच हमासको राजनीतिक शाखाका नेता रहेका खालेद मेसाल पनि उत्तराधिकारी हुनसक्ने अनुमन गरेका थिए । तर, उनको शक्तिमा उलेख्य ह्रास आइसकेकाले उनीले पहिलेको प्रभाव नराख्ने रहमानले बताए ।

हानिये र मेसालको तुलनामा सिनवार सम्झौता गर्न अनिच्छुक नेताका रूपमा लिइन्छ । ‘मेसाल र सिनवार हमासका दुई विपरीत धारलाई प्रतिनिधित्व गर्छन् । मेसाल इरान र उसका साझेरदासँगको सम्बन्धप्रति बढी सतर्क र व्यावहारिक छन्, जबकि सिनवार इरान र हिजबुल्लाहसँग गठबन्धनको विकल्प नभएको मान्छन्,’ अवादले भने । ‘संगठनात्मक रूपमा भन्नुपर्दा सिनवारले परिवर्तनको सट्टा निरन्तरतालाई प्रतिनिधित्व गर्छ,’ उनले भने । सिनवार र हानियेले ‘इरान र उसका छद्म शक्तिप्रति एउटै खालको विदेश नीति र अडान बोक्ने गरेका छन् ।’

सिनवारको नेतृत्वमा पनि युद्धविराम वार्ता अगाडि बढ्न सक्छ, भलै विश्लेषकहरूका अनुसार पछिल्लो समय वार्ताको मुख्य अवरोधक इजरायल देखिएको छ । इजरायलले बारम्बार उत्तेजना बढाउन जोड दिएको देखिन्छ । हानियेकै हत्याले युद्धविराम वार्ताको जटिलता थपिदिएको छ । ‘वार्तापहिले नै नाटकजस्तो भएको थियो । नेतन्याहुले हरेक मोडमा सम्भावित सम्झौतामा अवरोध पुर्याइरहेका छन् । वार्ताको नेतृत्व गर्ने हानियेको हत्या हुनु पनि यही अवरोधको अर्को शृंखला हो ।

इजरायली अधिकारीले अझै पनि सिनवारलाई उनीहरूको मार्ने व्यक्तिहरूको सूचीमा राखेको भए पनि हमास प्रमुखमा उनको नियुक्तिले वार्ता प्रक्रियामा धेरै परिवर्तन ल्याउन सक्दैन । ‘इजरायलले आतंकवादी संगठनसँग सीधा वार्ता नगर्ने नीति भएको भन्दै हमाससँग प्रत्यक्ष वार्ता गर्दैन,’ मिडल इस्ट इन्स्टिच्युटको प्रोग्राम अन प्यालेस्टाइन एन्ड प्यालेस्टाइन–इजरायल अफेरका आगन्तुक फेलो इयाल लुरी–पार्देसले अल जजिरालाई भने, ‘विगतमा, हमाससँग भएका कुनै पनि सम्झौता सधैँ तेस्रो पक्षको सहयोगमा अघि बढ्थ्यो । नेतृत्व प्रत्यक्ष नजोडिने भएकाले सिनवारको चयनले इजरायलको अडान परिवर्तन हुने सम्भावना छैन ।’

जहाँसम्म हमासभित्रको शक्ति संरचनाको कुरा छ, अक्टोबर ७ पछि हमासभित्र सिनवारलगायत कट्टरपन्थी मात्र हाबी भइरहेको रहमानले भने ।

– अल जजिराका लागि जस्टिन साल्हनीको आलेख

See More On

सुझावित समाचार