विश्व रेकर्डका रूपमा ९२.९७ मिटर टाढा ज्याभलिङ थ्रो गर्दै अर्सद नदिमले सन् १९८४ पछि पाकिस्तानलाई दिलाए स्वर्ण
ज्याभलिङ थ्रोका अर्सद नदिमले बिहीबार पेरिस ओलम्पिकमा विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । अर्सदले पाकिस्तानलाई ग्रीष्मकालीन ओलम्पिकमा ४० वर्षपछि स्वर्ण पदक दिलाएका हुन् । उनको स्वर्ण पाकिस्तानी समर्थकका लागि विशेष रह्यो । ओलम्पिकमा स्वर्ण जितेको खुसियालीमा शुक्रबार दिनभरि कराँचीमा खुसीको माहोल बन्यो । सन् १९८४ मा पाकिस्तानले अन्तिमपटक पुरुष हक्कीबाट स्वर्ण जितेको थियो । पाकिस्तानले ओलम्पिकअन्तर्गत ट्र्याक एन्ड फिल्डमा पहिलोपटक पदक जितेको पेरिसमै हो ।
सन् १९८८ को सोलदेखि २०२० सम्म टोकियो ओलम्पिकमा पाकिस्तान स्वर्णविहीन रह्यो । भारतका नीरज चोपडाको ब्याक टु ब्याक स्वर्ण जित्ने अभियानमा अर्सद बाधक बने ।
सन् २०२० को टोकियो ओलम्पिकमा स्वर्ण जितेका भारतीय ज्याभलिङ थ्रोका खेलाडी नीरजले ८९.४५ मिटर टाढा ज्याभलिङ थ्रो गर्दै स्वर्णको दाबेदारी दिएका थिए । उनले लगभग स्वर्ण जितेको महसुस गर्र्दै खुसी मनाइसकेका थिए ।
नीरजले फ्याँकेको दूरी निश्चित रूपमा स्वर्ण नै थियो । टोकियो ओलम्पिकको तुलनामा यसपटक बढी ज्याभलिङ थ्रो उनले गरेका थिए । यसकारण उनी स्वर्ण जित्नेमा विश्वस्त देखिएका हुन् । तर, ३२ वर्षीय अर्सदले कसैले कल्पना नगरेको प्रदर्शन गरे । उनले दोस्रोपटकको प्रयासमा पाकिस्तानलाई ४० वर्षदेखिको ओलम्पिकमा स्वर्ण खडेरी समाप्त पार्न सफल भए । ओलम्पिक इतिहासमा विश्व रेकर्डका रूपमा उनले ९२.९७ मिटर टाढा ज्याभलिङ थ्रो गरे । उनको यो ज्याभलिङ नीरजको भन्दा टाढा थियो ।
तर, उनी आफूले फ्याँकेको ज्याभलिङले रेकर्ड बन्यो वा बनेन भन्ने प्रतीक्षामा बसेका थिए । रंगशालाको ठूलो स्क्रिनमा नयाँ विश्व रेकर्डसहित स्वर्ण विजेता घोषित हुँदा अर्सदको खुसीको सीमा नै रहेन । अर्कोतिर नीरज निराश देखिन्थे । अर्सदबाट विश्व रेकर्डका रूपमा ज्याभलिङ थ्रो हुन्छ भनी नीरजले सोचेका थिएनन् । रजत पदकमा सीमित भएका नीरजले तत्कालै अर्सदलाई अंकमाल गरी जितको बधाई दिए ।
यस विधामा ग्रेनेडाका एन्डर्सन पिटरर्स ८८.५४ मिटरका साथ कांस्य पदकमा सीमित भएका छन् । उनले पहिलोपटक ओलम्पिकमा पदक जितेको यही नै हो । सन् २००८ को बेइजिङ ओलम्पिकमा नेदरल्यान्ड्सका एन्डे«सा थोकिल्डेसनले ९०.५७ को विश्वकीर्तिमान बनाएका थिए । अर्सदले १६ वर्षपछि एन्डे«साको रेकर्ड तोडेका छन् ।
अर्सद र नीरज मिल्ने साथी
धेरैलाई थाहा नहुन सक्छ । एसियाकै ज्याभलिङ थ्रोका उत्कृष्ट खेलाडी नीरज र अर्सद ट्र्याक एन्ड फिल्डमा प्रतिस्पर्धी भए पनि उनीहरू असाध्यै मिल्ने साथी हुन् । एथलेटिक्सअन्तर्गत ज्याभलिङ थ्रोको च्याम्पियनसिपमा दुवै खेलाडीबीच कडा टक्कर हुने गर्छ । ट्र्याकमा उपस्थित हुँदा उनीहरूबीच ठट्टा चल्ने गर्छ । भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध नराम्रो भए पनि उनीहरूका खेलाडीबीच मैदानमा राम्रो सम्बन्ध देख्न पाइन्छ । चार वर्षअघि नीरजले टोकियो ओलम्पिकमा ऐतिहासिक रूपमा स्वर्ण जित्दा अर्सद उनलाई बधाई दिन पुगेका थिए । यसपटकचाहिँ अर्सदले स्वर्ण चुम्दा नीरज उनका नजिकै थिए ।
स्कोर बोर्डमा अन्तिम नतिजा आउँदा नीरज आफ्ना साथीलाई बधाई दिन पुगे । गत वर्ष विश्व च्याम्पियनसिपमा अर्सदले रजत जित्दा पनि नीरज सँगै थिए । टोकियो ओलम्पिकमा नीरजले ८९.३४ मिटरका साथ स्वर्ण जितेका थिए । यद्यपि, यसपटक त्योभन्दा बढी ज्याभलिङ थ्रो गरे पनि उनी दोस्रो स्थानमै सीमित भएका छन् ।
नीरजकी आमाले दिइन् बधाई
भारतमा नीरजकी आमा सरोजदेवीले आफ्ना छोराले स्वर्ण पदक जित्नेमा ढुक्क थिइन् । ज्याभलिङ थ्रोको फाइनल इभेन्ट सुरु भएपछि आमा सरोजदेवी टिभीअगाडि थिइन् । छनोट चरणमा नीरजले उत्कृष्ट प्रदर्शन गरेपछि आमा सरोजदेवीले छोरा स्वर्ण पदकका साथ घर फर्किने बताएकी थिइन् । तर, पाकिस्तानका अर्सदले नीरजको हातबाट स्वर्ण पदक छिनेर लाने कल्पना उनले गरेकी थिइनन् । नतिजा आएपछि सरोजदेवी केही निराश देखिइन् । तर, पाकिस्तानले स्वर्ण र भारतले रजत जित्दा सरोजदेवी खुसी नै देखिइन् । ‘हामी रजत पदकमै खुसी भएका छौँ, एकजना छोराले स्वर्ण र अर्काले रजत जितेका छन्,’ सरोजदेवीले भनिन्, ‘यी दुवै मेरै बच्चा हुन्, मैले दुवैलाई उत्तिकै माया गरेकी छु ।’
१० करोड रुपैयाँ पुरस्कार
पाकिस्तानको पन्जाब प्रान्तका मुख्यमन्त्री मार्याम नवाजले नदिम अर्सदलाई बधाई दिँदै १० करोड रुपैयाँ दिने घोषणा गरेका छन् । ‘तपाईंले सिंगो पाकिस्तानलाई ओलम्पिकमा गौरवान्वित बनाउनुभएको छ,’ मुख्यमन्त्री नवाजले लेखेका छन्, ‘हामी योे खुसी धुमधामका साथ मनाउँछौँ ।’