सहयोग वृद्धि गर्न दक्षिण कोरियालाई कृषिमन्त्रीको आग्रह

शनिबार, २६ साउन, २०८१
डिजिटल संस्करण

कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले दक्षिण कोरियालाई कृषि क्षेत्रमा सहयोग बढाउन आग्रह गरेका छन्  । 

नेपालका लागि कोरियाका राजदूत पार्क तेयोङसँग शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालमा उन्नत जातको आलुको बिउ उत्पादन र हाइब्रिड धान उत्पादन प्रविधिमा सहकार्य गर्ने प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएका छन् । उनले कृषि क्षेत्रमा सहकार्यको थप अवसर प्राप्त हुने अपेक्षा रहेको समेत बताए ।

नेपालमै हाइब्रिड बिउको उत्पादन, उन्नत जातको आदान–प्रदान, जैविक विषादीको उत्पादन र मिश्रित रासायनिक मल उत्पादनको क्षेत्रमा दक्षिण कोरियाको लगानी र प्रविधि महत्वपूर्ण हुने अपेक्षा राखेको पनि मन्त्री अधिकारीले बताएका थिए ।

‘कोरियाबाट नेपाललाई उच्च नश्लका गाई उपलब्ध गराएर गर्नुभएको सहयोग सराहनीय रहेको छ । यसबाट दुग्ध क्षेत्र विकासमा कोसेढुंगा साबित हुने विश्वास लिएको छु,’ भेटमा मन्त्री अधिकारीले भनेका थिए ।

कोरियाका राजदूत तेयोङले नेपालबाट धेरै संख्यामा कृषि क्षेत्रमा कामदार गएको चर्चा गर्दै उनीहरूको स्वदेश फिर्तीपछि पनि कृषि क्षेत्रमै काम लगाउन सके सकारात्मक परिवर्तन आउने धारणा राखेका थिए । यसैबीच मन्त्रालयले रासायनिक मलखाद वितरणको जानकारी दिन निःशुल्क टेलिफोन सेवा सुरु गरेको छ ।

किसानले पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१७७७७९ मा कार्यालय समयभित्र फोन गरी आफ्नो नजिकमा रहेको मल विक्रेता सहकारी वा निजीस्तरका डिलरहरूको विवरण प्राप्त गर्न सक्ने मन्त्रालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार