भलिबल इतिहासमै पहिलोपटक आयोजना हुने एभरेस्ट महिला फ्रेन्चाइज लिगमा काठमाडौं, ललितपुर, गण्डकी, चितवन, मधेश तथा कर्णालीले प्रतिस्पर्धा गर्ने
नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । इन्फिनिटी ड्रिम्स कम्पनीले महिला भलिबलमा ६ टोली सहभागी गराएर एभरेस्ट महिला फ्रेन्चाइज लिग गर्न लागेको हो । ड्रिम्स कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी लिगमा सहभागी टोली सार्वजनिक गरेको छ । लिग खेल्ने टोलीहरूको नाम सहरअनुसार राखिएको छ । काठमाडौं, ललितपुर, गण्डकी, चितवन, मधेश र कर्णालीले पहिलोपटक हुन लागेको महिला लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
इन्फिनिटी ड्रिम्स र नेपाल भलिबल संघबीच महिला लिग सञ्चालन गर्न सात वर्षको सम्झौता भएको छ । सम्झौतापत्रमा ड्रिम्स कम्पनीबाट हस्ताक्षर गरेका प्रबन्ध निर्देशक आमिर अख्तरले भलिबलको फ्रेन्चाइज लिग दक्षिण एसियामै पहिलोपटक नेपालमा हुन गइरहेको जनाएका छन् । पहिलो संस्करणको लिग राउन्ड रोबिनअनुसार हुनेछ ।
आयोजकले टिम निर्माणका लागि खेलाडी ड्राफ्ट गर्ने तयारी गरेको छ । हरेक टोलीमा १२ खेलाडी हुनेछन् । टोलीमा अनिवार्य रूपमा नौ नेपाली र तीन विदेशी खेलाडी हुनुपर्नेछ । टोलीमा नेपाली खेलाडीबाटै मार्की खेलाडी बन्ने ड्रिम्स कम्पनीका निर्देशक अख्तरले बताए । उनका अनुसार प्रत्येक टोलीले एक खेलाडी स्थानीयस्तरबाट ट्यालेन्ट हन्टबाट राख्नुपर्नेछ । नेपाली खेलाडीलाई तीन समूहमा वर्गीकरण गरेर ड्राफ्ट गरिनेछ ।
समूह ‘ए’मा रहेका खेलाडीको मूल्य एक लाख ५० हजार, समूह ‘बी’का खेलाडीले एक लाख र समूह ‘सी’मा वर्गीकरण भएका खेलाडीले ५० हजार रुपैयाँ पाउने अख्तरले बताए । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले लिगको ड्राफ्टमा बिस्तारै खेलाडीको रकम बढाउँदै लैजान बताए । ‘नेपालको खेलकुदमा फुटबल र क्रिकेटमा धेरै पैसा छ । भलिबल फरक छ,’ चन्दले भने, ‘यो खेललाई बचाउनुपर्छ । लामो समयको योजना बनाएर यसलाई स्थायी बनाउने लक्ष्य छ ।’ पछिल्लो समयमा नेपालमा भलिबलको क्रेज बढेको छ ।
बुधबार भएको काभा महिला नेसन्स लिगको आयोजनाले पनि यस खेलप्रति दर्शकप्रतिको माया दर्शाउँछ । काभामा नेपाल उपविजेता बन्यो । नेपालले यसै प्रतियोगितामा पहिलोपटक भारतलाई हराएको थियो । तर, फाइनलमा नेपाल पाँच सेटमा पराजित भयो ।
काभा उपविजेता खेलाडीलाई जनही एक लाखका दरले पुरस्कृत गर्यो काठमाडौं महानगरले
काठमाडौं महानगरपालिकाले काभा महिला नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल टोलीलाई बिहीबार जनही एक लाखसहित पुरस्कृत गरेको छ । महानगरले नेपाली टोलीका १४ खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई जनही एक लाख रुपैयाँ प्रदान गरेको छ । लिगमा नेपाली राष्ट्रिय भलिबल टोलीबाट अरुणा शाही (कप्तान), सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, पुनम चन्द, संगम महतो, कविता भट्ट, सलिना श्रेष्ठ, कामना विष्ट, प्रगति नाथ, शान्तिकला तामाङ, साफिया पुन, आरती सुवेदी र सुमित्रा रेग्मीले प्रतिस्पर्धा गरेका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा बुधबार भएको फाइनलमा नेपाल भारतसँग ३–२ ले पराजित भएको थियो । महानगरले टोलीका सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक नीलम बज्राचार्य र फिजियो लोकेन्द्र कुँवरलाई समान ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
यस्ता छन् फ्रेन्चाइज टोलीका मालिक
पहिलो संस्करणको महिला फ्रेन्चाइज लिगमा सहभागी हुने टोलीका मालिकहरू कर्पोरेट क्षेत्रका छन् । काठमाडौंका मालिक शरदकृष्ण टिबडवाला हुन् । ललितपुरका अनुज एम तिमिल्सिना, अनोज रिमाल र विरोचन खनाल छन् । यसैगरी, मधेशको स्वामित्व रोहित र विशाल अग्रवालले लिएका छन् ।
चितवनको निम्बस होल्डिंग्सले स्वामित्व ग्रहण गरेका छन् । सौरभ केडिया गण्डकीका मालिक हुन् । कर्णालीको स्वामित्व राजेश बगडिया र प्रतीक अधिकारीले लिएका छन् । काठमाडौंबाट प्रतिनिधित्व गरेकी सुदीक्षा अधिकारीले आफू महिला फ्रेन्चाइज लिगदेखि उत्साहित भएको बताइन् । मधेशका अग्रवालले लिगबाट युवा प्रतिभा निस्किने विश्वास दिलाए ।
भलिबलअघि क्रिकेट र फुटबलमा फ्रेन्चाइज लिग
खेलाडीलाई खेलेर आत्मनिर्भर बनाउने उद्देश्यका साथ नेपालमा क्रिकेट र फुटबलमा फ्रेन्चाइज लिग सञ्चालन भइरहेका छन् । एभरेस्ट प्रिमियर लिग (इपिएल) धनगढी प्रिमियर लिग (डिपिएल) र पोखरा प्रिमियर लिग (पिपिएल) कुनै समय निकै चर्चित थिए । तर, अहिले यी लिग सञ्चालनमा छैनन् । नेपाल क्रिकेट संघ (क्यान) ले गत वर्ष नेपाल टी–२० लिग गरेको थियो ।
सहभागी टोली र मालिक
- शरदकृष्ण टिबडवाला (काठमाडौं)
- अनुज एम तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (ललितपुर)
- रोहित अग्रवाल र विशाल अग्रवाल (मधेश)
- सौरभ केडिया (गण्डकी)
- निम्बस होल्डिंग्स (चितवन)
- राजेश बगडिया र प्रतीक अधिकारी (कर्णाली)