सशस्त्रमा ९९ इन्स्पेक्टर माग, ७४ मात्रै पास

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

सुरक्षा निकायको जागिरमा आकर्षण कम हुँदा तुलनात्मक रूपमा आवेदन कम परेको र लोकसेवा आयोगको पाठ्यक्रम निकै कठिन रहेकाले पनि थोरै उत्तीर्ण भएको हुन सक्ने सशस्त्र प्रहरीका अधिकारीहरूको बुझाइ 

सशस्त्र प्रहरी बलमा ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) माग भएकोमा लिखित परीक्षामा ७४ जना मात्र उत्तीर्ण भएका छन् । आरक्षण कोटामा मागभन्दा न्यून उत्तीर्ण भएका छन् । लिखित परीक्षामा खुला र आरक्षण कोटामा गरी कुल तीन सय सातजना सहभागी थिए । 

लोकसेवा आयोगले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार खुलातर्फ ५४ र आरक्षणतर्फ ४५ कोटा छुट्याइएको थियो । आरक्षणतर्फ पिछडिएको क्षेत्रबाहेक अन्य समूहमा मागभन्दा कम उत्तीर्ण भएका हुन् । 

आठ महिला माग भएकोमा चारजना मात्रै उत्तीर्ण भएका छन् । दलित समुदायका लागि सात कोटा छुट्याइएकोमा तीनजना मात्र उत्तीर्ण भएका छन् । आदिवासी जनजातितर्फ १३ मा नौ, मधेशीतर्फ ११ मा तीन र अमर तथा अशक्त प्रहरीका सन्तानका लागि छुट्याइएको चार कोटामा एकजना पनि उत्तीर्ण भएनन् । 

यसरी समावेशी कोटातर्फ रिक्त रहेका पदलाई पनि खुलातर्फ जोडेर लोकसेवा आयोगले नतिजा प्रकाशन गरेको छ । त्यति हुँदा पनि ७४ जना मात्र उत्तीर्ण भएका छन् । समावेशीतर्फ लिखित परीक्षामा सफल हुने सबैले खुलामा पनि नाम निकालेका थिए । 

एकातर्फ सुरक्षा निकायको जागिरमा सर्वसाधारणको आकर्षण कम हुँदा तुलनात्मक रूपमा आवेदन कम परेको र अर्काेतर्फ लोकसेवा आयोगको पाठ्यक्रम निकै कठिन रहेकाले पनि थोरै उत्तीर्ण भएको हुन सक्ने सशस्त्र प्रहरीका एक अधिकारी बताउँछन् । विगतदेखि नै समावेशी कोटामा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् । 

नेपाली सेनाको अधिकृत क्याडेटको भर्नामा पनि लिखित परीक्षामै धेरै अनुत्तीर्ण भएपछि पाठ्यक्रम नै संशोधन गरिएको थियो । त्ससयता उत्तीर्णदर बढेको छ । यद्यपि, केही आरक्षण कोटामा मागभन्दा कम उत्तीर्ण हुने गरेका छन् । 

गत १७ साउनमा प्रकाशित लिखित परीक्षाको नजिताअनुसार मधेशी र सैनिक सन्नतिको कोटामा मागभन्दा कम उत्तीर्ण भएका थिए । मधेशी कोटामा २७ सिटमा आठजना तथा सैनिक सन्ततिमार्फत १२ सिटमा पाँचजना उत्तीर्ण भएका थिए । सेनाले अधिकृत क्याडेटमा २२९ पदमा भर्ना खोलेकोमा लिखित परीक्षामा पाँच सय ८९ जना उत्तीर्ण भएका थिए । 

See More On

सुझावित समाचार