कावासोतीमा नगद र गरगहना चोरी

बुधबार, २३ साउन, २०८१
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा घरमा कोही नभएको मौका पारी गएराति चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घरमा कोही नभएको मौका पारी कावासोती– १६ तीनघरस्थित हुमलाल विकको घरमा चोरी भएको हो । 

उनको घरबाट एक लाख ५० हजार नगद, औँठी, तिलहरी, सिक्रीलगायतका गरी पाँच तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाँडाकुँडा गरी आठ लाखभन्दा बढीको नगद र गरगहना चोरी भएको हो। 

केही अपरिचित व्यक्तिहरूले घरको मूलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ। हुमलाल विक कावासोती– १ हात्तीखारमा आफ्नो दाजुको मृत्यु भएको घर गएका थिए।

घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।  उनका अनुसार अहिले नवलपुरमा घरमा कोही नभएको मौका छोपी चोरी गर्ने घटना बढेको छ ।
 

सुझावित समाचार