विश्वकै अग्लो स्थानमा रहेको मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्समा तेस्रो संस्करणको गल्फ प्रतियोगिता हुने भएको छ। लोमान्थाङ गाउँपालिकाको आयोजनामा १ भदौमा प्रतियोगिता हुन लागेको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएकाे हाे ।
समुद्र सतहबाट चार हजार ६५० मिटर उचाइमा रहेको कोर्समा हुने प्रतियोगितामा १० गैरआवासीय नेपालीसँगै पोखरा, काठमाडौं, धरान, बुटवललगायत स्थानका गरी ४० खेलाडीले प्रतिस्पर्धा गर्ने गल्फ संघ गण्डकीका अध्यक्षसमेत रहेका मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले जानकारी दिए।
उच्च उचाइको कारणले प्रतियोगितामा ९ होलमा ३–४ ह्यान्डिक्यापको साथ स्टेबल फोर्ड ढाँचामा खेलाइनेछ। विजेतालाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ भने उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, क्लोजेस्ट टु द पिन र लंगेस्ट ड्राइभका लागि पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । प्रतियोगितामा होल इन वानको विजेतालाई घोडा पुरस्कार राखिएको छ । विजेताले घोडा नलगे घोडाको साटो नगद एक लाख पाउने विष्टले जानकारी दिए।
एकदिने प्रतियोगिता सम्पन्न गर्न प्रभु बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर, जर्मन बेकरी, सोल्टी मिनरल वाटर, बाह्रसिंगे बियर, लो मुस्ताङ हिमालयन रिसोर्टलगायतले आर्थिक सहयोग गरेका छन्।
कोर्सलाई वर्ल्ड रेकर्डमा समावेश गराउने प्रक्रिया अन्तिम चरणमा
मुस्ताङ गल्फ कोर्सलाई वर्ल्ड रेकर्ड कायम गराउन तथा विश्वको उच्चतम उचाइमा रहेको गल्फ कोर्सको रूपमा प्रचार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको विष्टको भनाइ छ। यसअघि भारतको पूर्वी सिक्किमको कु–पुपमा तीन हजार ९७० मिटर उचाइमा रहेको याक गल्फ कोर्सको कीर्तिमानलाई तोड्दै विश्वको सबैभन्दा उच्च उचाइ चार हजार ६५० मिटरमा रहेको गल्फ कोर्सको रूपमा मुस्ताङको कोर्स दर्ज हुने उनले बताए।
गिनिज बुक्स अफ वर्ल्ड रेकर्डमा दर्ज गराउन आवश्यक काम अन्तिम चरणमा पुगेको विष्टले जानकारी दिए। तेस्रो संस्करणको प्रतियोगितामा धेरै अन्तर्राष्ट्रिय गल्फरहरूलाई ल्याउने लक्ष्य आयोजकको रहेको उनको भनाइ छ।