पाँच गुणाले बढ्यो सिमेन्ट निर्यात

बुधबार, १६ साउन, २०८१
डिजिटल संस्करण

आव ०८०/८१ मा तीन अर्ब ८५ करोडको सिमेन्ट र क्लिंकर निर्यात, निर्यात हुने १५ वस्तुमा सिमेन्ट–क्लिंकर

नेपालमा उत्पादित सिमेन्टको निर्यात उत्साहप्रद देखिएको छ । गत आर्थिक वर्षमा तीन अर्ब ८५ करोडको सिमेन्ट र क्लिंकर (अर्धप्रशोधित सिमेन्ट) निर्यात भएको छ । निर्यात सुरुवात भएको दोस्रो वर्षमै सिमेन्ट–क्लिंकर नेपालबाट निर्यात हुने प्रमुख १५ वस्तुभित्र परेको छ । 

गत आर्थिक वर्षमा २८ लाख ३९ हजार टन सिमेन्ट–क्लिंकर भारततर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ । जसमा पाँच लाख सात हजार टन क्लिंकर र २३ लाख ३२ हजार टन सिमेन्ट रहेको छ । अघिल्लो आर्थिक वर्षमा ७७ करोड ९३ लाखबराबरको १० लाख चार हजार टन मात्र सिमेन्ट–क्लिंकर निर्यात भएको थियो । उद्योगीहरूले भने सिमेन्टको निर्यात उत्साहप्रद रहे पनि लक्ष्यअनुरूप हुन नसकेको बताएका छन् । 

दुई वर्षअघि २४ असार ०७९ देखि नेपालमा उत्पादित सिमेन्ट–क्लिंकर सीमावर्ती भारतीय बजारमा निर्यात सुरु भएको थियो । नवलपरासीको रामग्रामस्थित पाल्पा सिमेन्ट उद्योगले ‘तानसेन’ ब्रान्डको सिमेन्ट पहिलोपटक भारतीय बजारमा निर्यात थालेको थियो । पाल्पा सिमेन्टले पहिलो दिन करिब १२ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको थियो । निर्यात थालेको पहिलो महिना ०७९ साउनमा पाल्पा सिमेन्ट उद्योगको मात्रै ४९ लाख २९ हजारबराबरको ३३ हजार एक सय ५७ टन सिमेन्ट निर्यात गर्‍यो । दोस्रो महिना भदौमा पाल्पाले ४० लाख ३२ हजारको सिमेन्ट निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । ३० असोज ०७९ देखि भने अर्घाखाँची सिमेन्टले पनि निर्यात सुरु गर्न थाल्यो । २९ जेठ ०८० देखि बालाजी सिमेन्ट र २१ भदौ ०८० मा सिजी पाल्पा सिमेन्ट उद्योगले निर्यात सुरु गर्‍यो । त्यसपछि सर्वोत्तम सिमेन्ट, सौर्य सिमेन्ट, घोराही, सम्राट्लगायतले सिमेन्ट–क्लिंकर निर्यात सुरु गरेका छन् । सुरुका दुई महिना तयार सिमेन्ट मात्र निर्यात भएकोमा असोजदेखि सिमेन्टको कच्चा पदार्थ क्लिंकर पनि निर्यात सुरु भएको थियो । सिजी पाल्पा सिमेन्टले भारतको अदानी ग्रुपसँगको साझेदारीमा एएसी ब्रान्डमा सिमेन्ट उत्पादन गरेर भारतीय बजारमा निर्यात गरिरहेको छ ।

आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तु निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान र १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई महसुलमा १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेपछि उद्योगीले सिमेन्ट निर्यात थालेका हुन् । सिमेन्टको बढ्दो निकासीले खस्कँदो निर्यात व्यापारमा केही राहत प्रदान गरेको छ । 

सिमेन्ट निर्यात उत्साहप्रद रहे पनि लक्ष्यअनुरूप नभएको सर्वोत्तम सिमेन्टका सञ्चालक विष्णु न्यौपानेले बताए । ‘गत आवमा पाँच अर्बभन्दा बढीको सिमेन्ट निर्यात हुने अनुमान थियो, तार्गेट पूरा हुन सकेन,’ उनले भने, ‘पिक सिजनमै उद्योगमा १२ घण्टासम्म बिजुली काटियो, सरकारले दिने भनेको ८ प्रतिशत नगद अनुदान पनि अहिलेसम्म पाउन सकिएन, जसले निर्यातमा पनि असर पर्न गयो ।’ वार्षिक सय अर्बभन्दा बढीको सिमेन्ट निर्यात गर्न अथाह सम्भावना रहेको उनको भनाइ छ । 

भारतको उत्तर प्रदेश र बिहारमा चुनढुंगा खानी नहुनाले नेपालबाट निर्यातको ठूलो सम्भावना देखिएको उद्योगीको भनाइ छ । त्यसो त धेरै उद्योगले ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइएस)का लागि आवेदन दिए पनि अहिलेसम्म आठवटा उद्योगले मात्र बिआइएस पाएका छन् । भारत सरकारले बिआइएस नदिँदासम्म सिमेन्ट र क्लिंकर निर्यात गर्न पाइँदैन । ‘सिमेन्टको निर्यात ७८ करोडबाट तीन अर्ब ८५ करोडको पुग्नु पक्कै सुखद हो, तर अपेक्षित भने होइन,’ अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारकाले भने, ‘गत आर्थिक वर्षमा सिमेन्ट र क्लिंकर निर्यात पाँच अर्बभन्दा बढीको हुने अनुमान थियो ।’ उद्योगमा गरिएको लोडसेडिङ, भारतको चुनाव, लजिस्टिक समस्या, खानीका समस्यालगायत कारणले सिमेन्ट निर्यात अपेक्षित हुन नसकेको उनको ठम्याइ छ ।

स्वदेशी कच्चा पदार्थमा आधारित सिमेन्ट केही वर्षमै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा पर्ने उद्योगीको अनुमान छ । ‘यदि सरकारले सहजीकरण गरिदिएमा चालू आर्थिक वर्षमा १० अर्बबराबरको सिमेन्ट–क्लिंकर निर्यात गर्न सकिन्छ,’ मुरारकाले भने, ‘यसका लागि उद्योगमा २४सै घण्टा बत्ती चाहिन्छ, खानीमा समस्या हुनुभएन, लजिस्टिक सहज हुनुपर्छ, उद्योगलाई दिनुपर्ने नगद अनुदान पनि समयमै दिइनुपर्छ ।’

स्वदेशी कच्चा पदार्थ चुनढुंगा प्रयोग गरेर उत्पादन गरिने सिमेन्ट तुलनात्मक रूपमा लाभ धेरै भएको वस्तु हो । उद्योगीका अनुसार सिमेन्ट उत्पादनमा ८० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने गर्छ । स्वदेशी कच्चा पदार्थमा आधारित भएको हुनाले सिमेन्ट निर्यातमा नेपाललाई धेरै फाइदा छ ।

कुन महिना कति निर्यात ?
गत आर्थिक वर्षको पहिलो महिना साउनमा २३ करोड ५० लाखको सिमेन्ट–क्लिंकर निर्यात भएको थियो । भदौमा १८ करोड ३५ लाख, असोजमा ४३ करोड ४६ लाख, कात्तिकमा २७ करोड ७७ लाख, मंसिरमा ३६ करोड १६ लाख, पुसमा २७ करोड नौ लाख, माघमा २९ करोड ७५ लाख, फागुनमा ४० करोड ९८ लाख, चैतमा ५० करोड ३९ लाख, वैशाखमा ३६ करोड नौ लाख, जेठमा ३२ करोड १६ लाख र असारमा १९ करोड ५६ लाख रुपैयाँबराबरको सिमेन्ट तथा क्लिंकर भारतीय बजारमा निर्यात भएको छ ।

सुझावित समाचार