सुडानको भोकमरीमा पश्चिमा देशको बेवास्ता

वर्षौँ लामो द्वन्द्वका कारण आन्तरिक रूपमा झन्डै एक करोड सुडानी विस्थापित भएका छन्

मंगलबार, १५ साउन, २०८१
डिजिटल संस्करण
सुडानको भोकमरीमा पश्चिमा देशको बेवास्ता

मार्चमा सुडानको ओमदुरमानमा खाना संकलनका लागि पर्खिरहेका सर्वसाधारण  । तस्बिर : रोयटर्स

सुडानमा विनाशकारी अनिकालको जोखिम तीव्र रूपमा बढिरहेको छ । संयुक्त राष्ट्र संघको भोकमरी अनुगमनको हालैको रिपोर्टअनुसार पछिल्लो ६ महिनामा ‘खाद्य सुरक्षाको अवस्था तीव्र रूपमा बिग्रिएको’ले युद्धग्रस्त उत्तरपूर्वी अफ्रिकी राष्ट्रलाई कल्पनाभन्दा बाहिरको विनाशको शिखरमा पुर्याएको छ ।

सुडानका १८ राज्यहरूमध्ये १४ वटामा ८० लाखभन्दा बढी मानिसले अहिले खाद्य अभावको सामना गरिरहेका छन्, जसका कारण कुनैवेला तीव्र कुपोषण र मृत्युको जोखिम निम्तिन सक्छ । तीमध्ये लगभग साढे सात लाख मानिस तत्काल भोकमरीको जोखिममा छन् । सेभ द चिल्ड्रेनले गरेको विश्लेषणअनुसार ‘१६.४ मिलियन बालबालिका वा देशका प्रत्येक चारजनामध्ये तीनजनाले अहिले संकट, आपत्कालीन विपत्ति’स्तरको भोकको सामना गरिरहेका छन् । यो तथ्यांक गत डिसेम्बरमा मात्र ८.३ मिलियन थियो ।

यद्यपि, अभूतपूर्व मानवीय प्रकोपको आसन्न खतराका बाबजुद अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी पश्चिमा देशले सुडान र यसको लामो द्वन्द्वप्रति कम चासो देखाएका छन् । यस विषयमा समाचार कहाँ छन् ? कहाँ भए आन्दोलन ? कहाँ छ अभियान, हस्तक्षेप र जवाफदेहिताको माग ?सुडानमा वर्षौं लामो द्वन्द्वले आन्तरिक रूपमा झन्डै एक करोड मानिसलाई विस्थापित गरेको छ भने हजारौँको ज्यान लिएको छ । द्वन्द्वले लाखौँलाई अनिकालमा राखेको, आघातमा पारेको र भविष्यका लागि झिनो आशामा राखेको छ । सुडानमा हरेक दिन एक त्रासदीपूर्ण समय हो । तर, संसारले कुनै ध्यान दिएको देखिँदैन ।

निःसन्देह हानिकारक र निराशाजनक भए पनि सुडानको संकटमा पश्चिमा नेतृत्वको अन्तर्राष्ट्रिय समुदायको स्पष्ट बेवास्ता अचम्मको विषय हो । बारम्बार, हामीले पश्चिम र यसका नेताले अफ्रिका वा मध्यपूर्वको संकटबारे केही हदसम्म ख्याल गरेको देखेका छौँ । वास्तवमा, सुडान हाम्रो समयको एक मात्र बिर्सिएको संकट हो ।

मानवीय प्रकोपको खतराका बाबजुद अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी पश्चिमा देशले सुडानको लामो द्वन्द्वप्रति कम चासो देखाएका छन्

उदाहरणका लागि सिरिया अझै पनि भयानक संकटको सामना गरिरहेको छ, लाखौँ विस्थापित छन् र उनीहरूको घर फर्किने आशा मरेको छ । उनीहरू स्वदेश र विदेशमा कठिन परिस्थितिमा बाँचिरहेका छन्, तर विश्वले अहिले सिरियाली नागरिकको त्रासदीबारे धेरै ध्यान दिएको छैन । सुडानको पनि यस्तै अवस्था हुँदै छ ।

प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी)का जनता अझै पनि विद्रोही र सेनाबीच चलिरहेको लडाइँमा मारिएका, अपांगता भएका र विस्थापित भइरहेका छन् । तर, तिनीहरूको पीडा पश्चिमी एजेन्डामा सामान्य विवरणबाहेक अरू केही देखिँदैन ।

गाजामा जारी अत्याचारले द्वन्द्वको पछिल्लो चरणको सुरुवातदेखि नै अन्तर्राष्ट्रिय समुदायबाट महŒवपूर्ण ध्यान खिचेको छ । तर, अब, संयुक्त राज्य अमेरिका, फ्रान्स र बेलायत सबैले आफ्नो ध्यान चुनाव र घरेलु राजनीतिमा केन्द्रित गरेसँगै गाजामा जारी युद्ध र मानवीय संकट पनि बिस्तारै प्राथमिक चिन्तामा पर्न छोड्दै छ ।

ग्लोबल साउथमा संकटले सधैँ विश्वव्यापी ध्यानका लागि एक कठिन युद्धको सामना गरेको छ । यद्यपि, सुडान, सिरिया, कंगो वा अन्यत्र कुनै संकट वा द्वन्द्वलाई अन्तर्राष्ट्रिय समुदायले टाढाबाट हेर्छ वा बिर्सन्छ भने त्यो संकट हट्दैन झन्–झन् बढ्छ । वास्तवमा अन्तर्राष्ट्रिय छानबिनको अभाव भनेको मानवीय आवश्यकता र मानव अधिकार उल्लंघनलाई दण्डहीनतापूर्वक उथलपुथल गर्न अनुमति दिनु हो ।

मार्ग सच्याउन ढिलो भएको छैन । अन्तर्राष्ट्रिय समुदायले अझै पनि सही निर्णय लिन सक्छ र एउटा द्वन्द्व वा मुद्दाभन्दा बाहिर आफ्नो ध्यान विस्तार गर्न सक्छ । विश्वका धेरै लामो द्वन्द्व र मानवीय संकटहरू हटेका छैनन्, किनभने हामीले तिनीहरूमा ध्यान दिन छाडेका छौँ भनेर अन्तर्राष्टिय समुदायले स्वीकार गर्न सक्छ ।

विशेषगरी सुडानमा विश्वव्यापी ध्यान र कार्यको तत्काल आवश्यकता छ । सुडानमा युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी संकट’ निम्त्यिाउने भन्दै मार्चको सुरुमा विश्व खाद्य कार्यक्रमले डरलाग्दो चेतावनी जारी गरेको थियो । चार महिनापछि स्थिति उल्लेखनीय रूपमा खराब छ । विश्वकै सबैभन्दा ठूलो भोकमरी संकट सुडानमा छ ।

हामी र सुडानमा काम गर्ने हाम्रा साझेदारले आसन्न भोकमरीविरुद्ध लड्ने प्रयासमा निकै अभावबाट गुज्रिएका परिवारहरू देखिरहेका छौँ । आफ्ना छोराछोरीलाई पालनपोषणको खोजीमा अभिभावक देशभर घुमिरहेका छन् । तिनीहरूको अर्को दिनको खाना कहाँबाट आउँछ भन्नेमा कुनै पनि सुडानी निश्चित छैनन् । सुडान चाँडै उसको मुख्य बाली लगाउने मौसममा प्रवेश गर्दै छ । तर, अधिकांश जनसंख्या विस्थापित भएका र कतिपय काम गर्न धेरै भोकाएकाले सफल फसलको सम्भावना हृदयविदारक रूपमा कम छ ।

विश्वले सुडानमा के भइरहेको छ भनेर बुझ्नुपर्छ र धेरै लामो समयदेखि पीडित भएका मानिसको थप विनाश रोक्न तत्काल कदम चाल्नुपर्छ । यदि हामीले अहिले काम गरेनौँ भने परिणाम ‘हाम्रो समयको सबैभन्दा ठूलो भोकमरी संकट’ निम्तिनेछ । हामी भन्न सक्दैनौँ कि हामीलाई थाहा थिएन । केवल हामीले वास्ता गरेनौँ ।
– अलजजिराबाट

सुझावित समाचार