नेताहरूलाई रिहा नगरे पुनः आन्दोलन गर्ने बंगलादेशी विद्यार्थी समूहको चेतावनी

आइतबार, १३ साउन, २०८१
डिजिटल संस्करण
नेताहरूलाई रिहा नगरे पुनः आन्दोलन गर्ने बंगलादेशी विद्यार्थी समूहको चेतावनी

फाइल तस्बिर : मोनिरुल आलम/इपिए

बंगलादेशको एक विद्यार्थी समूहले आफ्ना केही नेतालाई हिरासतबाट रिहा नगरे प्रदर्शन पुनः सुरु गर्ने चेतावनी दिएको छ। प्रहरी र अस्पतालबाट प्राप्त एएफपीको तथ्यांकअनुसार गत हप्ता भएको हिंसामा कम्तीमा २०५ जनाको मृत्यु भएको थियो। यो प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा ठूलो उथलपुथल हो।

सेनाको गस्ती र राष्ट्रव्यापी निषेधाज्ञा आदेश एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि जारी छ। प्रहरीले कम्तीमा आधा दर्जन विद्यार्थी नेतासहित हजारौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

आन्दोलनको आयोजक ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का सदस्यले निजामती सेवा भर्ती नियमहरूको विरुद्ध अभियान चलाएका थिए। यसअघि उनीहरूले यो हप्ता सप्ताहव्यापी विरोध स्थगन वा अन्त्य गर्ने बताए पनि प्रदर्शनकारी विद्यार्थी नेताहरूको रिहाइ नभएको भन्दै आन्दोलन लम्बिन सक्ने चेतावनी दिएका छन्।

‘समूहका प्रमुख नाहिद इस्लाम र अन्यलाई रिहा गरिनुपर्छ र उनीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिनुपर्छ,’ अब्दुल हन्नान मसुदले शनिबार एक अनलाइनसँगको कुराकानीमा बताए।

मसुदले आफू अधिकारीहरूबाट लुकेर बसेको कारण आफ्नो स्थान नखुलाएको बताउँदै प्रदर्शनकारीको मृत्युका लागि जिम्मेवार सरकारी मन्त्री र प्रहरी अधिकारीविरुद्ध ‘खुला कारबाही’ गर्न पनि माग गरेका छन्।

उनले भने, ‘प्रशासनले अझै पनि विद्यार्थीको मागलाई बेवास्ता गर्दै अघि बढेमा विभेदविरुद्ध विद्यार्थी समूहले सोमबारदेखि कडा आन्दोलन गर्न बाध्य हुनेछन्।’ इस्लाम र प्रदर्शनकारी समूहका अन्य दुई वरिष्ठ सदस्यलाई शुक्रबार राजधानी ढाकास्थित अस्पतालबाट जबर्जस्ती डिस्चार्ज गरी सादा पोसाकका जासुसहरूको एक समूहले लगेको थियो।

यसै साताको सुरुमा इस्लामले एएफपीलाई दिएको जानकारीअनुसार प्रहरीले हिरासतमा दिएको यातनाबाट लागेको चोटका कारण अस्पतालमा उपचार गराइरहेको र आफू आफ्नो ज्यानको खतरामा रहेको बताएका थिए।

गृहमन्त्री असदुज्जमान खानले तीनैजनालाई आफ्नो सुरक्षाका लागि हिरासतमा लिइएको बताए पनि उनीहरूलाई औपचारिक रूपमा पक्राउ गरिएको हो वा होइन भन्ने पुष्टि गरेनन्। प्रहरीले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार जासुसहरूले अन्य दुईजनालाई पनि हिरासतमा लिएका छन्। ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ अभियन्ताले एएफपीलाई आइतबार बिहान एकजनालाई नियन्त्रणमा लिइएको बताएका छन्।

बंगलादेशको सबैभन्दा ठूलो दैनिक पत्रिका प्रोथोम आलोका अनुसार आन्दोलन सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ।

सुझावित समाचार