आफैँले अधिवेशन गराएको पौडी संघलाई राखेप र एनओसीको उपेक्षा
आफैँ उपस्थित भएर अधिवेशन गराएको नेपाल पौडी संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले चरम उपेक्षा गरेका छन् । लेटरप्याड र छाप दुरुपयोग गरेको आरोप लागेका निवर्तमान अध्यक्ष अशोकरत्न बज्राचार्यलाई पेरिस ओलम्पिकमा पठाएका छन् ।
समयमा अधिवेशन नगराएपछि राखेपले तत्कालीन अध्यक्ष बज्राचार्य नेतृत्वको पौडी संघ विघटन गरेर उनकै नेतृत्वमा तदर्थ समिति बनाएको थियो । ८ वैशाख ०८१ मा भएको अधिवेशनबाट जगतमान श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी चयन भएको थियो । ४२ वर्षपछि बज्राचार्य पौडी संघको नेतृत्वबाट बिदा भएका थिए । चार दशकमा उनले तीनपटक मात्रै संघको साधारणसभा गराएका थिए ।
अधिवेशनको उद्घाटन समारोहमा राखेपका सदस्यसचिव टंकलाल घिसिङ प्रमुख अतिथि र एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ विशिष्ट अतिथि थिए । त्यति मात्रै होइन, राखेपका खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलको नेतृत्वमै अधिवेशनले निर्वाचन समिति बनाएको थियो, जसको सदस्यमा एनओसीका प्रतिनिधि रमेश शिवाकोटी पनि थिए । अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका बज्राचार्यले हार निश्चित देखेपछि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । श्रेष्ठ सर्वसम्मत अध्यक्ष बने ।
अधिवेशनपछि नयाँ कमिटीले वर्ल्ड इक्वेस्टिकसँग समन्वय गर्न बज्राचार्यलाई नै जिम्मा दियो । तर, उनले पौडी संघमा नयाँ नेतृत्व आएको अन्तर्राष्ट्रिय निकायहरूलाई जानकारी नै गराएनन् । बरु, आफू नै अध्यक्ष रहेको फर्जी कागजपत्र बनाएर पत्राचार गरेको अध्यक्ष श्रेष्ठको दाबी छ ।
‘हामी नेतृत्वमा आएपछि उहाँ (बज्राचार्य)लाई नै अन्तर्राष्ट्रिय समन्वय सहजीकरण गर्न जिम्मेवारी दिएका थियौँ, तर उहाँले उल्टै आफू नै अध्यक्ष रहेको बताएका रहेछन् । कतिसम्म भने संघको लेटरप्याड तथा छाप दुरुपयोग गरी पत्र लेखेको जानकारी प्राप्त भएको छ । यसमा संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ पौडी संघका अध्यक्ष श्रेष्ठले भने । अधिवेशनमा आफूअनुकूल नतिजा नआएपछि बज्राचार्यले निर्वाचित संघलाई नै अवैधानिक भन्दै कागजपत्रसमेत दुरुपयोग गरेको उनको भनाइ छ । वर्ल्ड इक्वेस्टिकमा पनि आफू नै नेपाल पौडी संघको अध्यक्ष रहेको जानकारी बज्राचार्यले गराएका छन् ।
पौडी संघको अध्यक्षका रूपमा बज्राचार्य पेरिस पुगिसकेका छन् । ओलम्पिकमा जुडो, टेबुलटेनिस र सुटिङका अध्यक्ष पनि गएका छन् । एनओसीले पेरिस पठाउन बज्राचार्यसहित २९ जनाको सूची राखेपमा पठाएको थियो, जसलाई राखेपले स्वीकृति दिएको थियो ।
बज्राचार्यले भने अन्तर्राष्ट्रिय निकायमा पत्राचार गर्न सामान्य कमजोरी भएको र चाँडै समाधान निस्कने बताए । ‘वर्ल्ड इक्वेस्टिकमा सामान्य पत्राचार गर्न कमजोरी भएको छ । चाँडै यो समस्या सुल्झाउँछौँ,’ उनले नयाँ पत्रिकासँग भने ।
एनओसी चुनावसँग जोडिएको राजनीति
बज्राचार्य एनओसीका उपाध्यक्ष पनि हुन् । खेलकुदभित्रको राजनीति, अझ खास गरेर एनओसीको निकट भविष्यमै हुन लागेको निर्वाचनको दाउपेच हेरेर राखेप र एनओसीले उनलाई च्यापेका छन् । बज्राचार्य एनओसी अध्यक्ष जीवनराम श्रेष्ठनिकट हुन् । ओलम्पिकलगत्तै एनओसीको निर्वाचन हुँदै छ । स्रोतका अनुसार विधान संशोधन गरेरै भए पनि जीवनराम तेस्रो कार्यकाल पनि अध्यक्ष बन्ने योजनामा छन् । पौडी संघ एनओसीको मतादाता हुँदा उनी बज्राचार्यको साथ गुमाउन चाहँदैनन् । निर्वाचित अध्यक्ष श्रेष्ठले आफूलाई सहयोग नगर्ने जीवनरामको बुझाइ छ । यस विषयमा राखेप भने मौन छ । उनले एनओसीले सदस्यसचिव घिसिङलाई पेरिस ओलम्पिकमा ‘सेभ दी मिसन’ बनाएका छन् भने बज्राचार्यलाई पौडी संघको अध्यक्षका हैसियतमा पेरिस पठाएका छन् ।
लेटरप्याड तथा छाप दुरुपयोग गरी फर्जी काम गरिएको छ : जगतमान श्रेष्ठ, अध्यक्ष, पौडी संघ
हामी नेतृत्वमा आएपछि उहाँ (बज्राचार्य)लाई नै अन्तर्राष्ट्रिय समन्वय गर्न माइन्युट नै गरेका थियौँ । तर, उहाँले उल्टै आफू नै अध्यक्ष रहेको पत्राचार गरेर फर्जी काम गर्नुभएको रहेछ । समन्वय भयो भनेर राज्यलाई नै ढाँट्नुभयो । किनभने अहिले वर्ल्ड इक्वेस्टिकलाई जानकारी छैन भनिएको छ । कतिसम्म गर्नुभयो भने संघको लेटरप्याड तथा छाप दुरुपयोग गरी पत्र लेखेको जानकारी प्राप्त भएको छ । यसमा संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
चुनाव नियमसंगत नै भएको हो : निलेन्द्रराज श्रेष्ठ, महासचिव, एनओसी
पौडी संघको चुनावमा एनओसीले प्रतिनिधि पनि पठाएको हो । म आफैँ पनि साधारणसभामा उपस्थित थिएँ । चुनाव नियमसंगत नै भएको हो । हामीलाई वर्ल्ड इक्वेस्टिकले चिठी पठाउँदै संघको विधान संशोधन भएको र त्यसको स्वीकृत नभएको, निर्वाचन हुनु ६० दिनअघि नै सूचना नपठाएको तथा प्रतिनिधिसमेत नआएको भन्दै मान्यता दिएको छैन । अब, प्रक्रिया पूरा गरेर पुनः निर्वाचन गर्न भनिएको छ । एनओसीले अन्तर्राष्ट्रिय मान्यतालाई मात्रै साथ दिन्छ ।
पूर्वअध्यक्ष अशोकरत्न बज्राचार्य भन्छन्–वर्ल्ड इक्वेस्टिकमा सामान्य पत्राचार गर्न कमजोरी भएको छ । चाँडै यो समस्या सुल्झाउँछौँ ।
बज्राचार्यले नयाँ कमिटीलाई सहयोग गर्नुपर्छ : चन्द्र राई, संघसंस्था समन्वय समिति, राखेप
राखेपले नयाँ खेलकुद ऐनअनुसार निर्वाचन गर्न पुरानो कार्यसमिति भंग गरेर बज्राचार्यकै अध्यक्षतामा तदर्थ समिति बनाएको थियो । तदर्थ समितिले निर्वाचन गराएको हो । उहाँले चार दशक अध्यक्ष भएर काम गर्नुभयो । दुई पक्षको सहमतिमै चुनाव भएको हो । विधान नयाँ साधारणसभाबाट अनुमोदन गरेर पुनः फाइनल गर्न बाँकी नै छ । राज्यका तर्फबाट सबै प्रक्रिया पूरा गरेका छौँ । अन्तर्राष्ट्रिय मान्यता किन भएन हामीलाई थाहा छैन । पूर्वअध्यक्ष (बज्राचार्य) आफैँ ओलम्पिक कमिटीमा हुनुहुन्छ । उहाँले चाहेको अवस्थामा अन्तर्राष्ट्रिय मान्यता हुन्छ । उहाँले नयाँ कार्यसमितिलाई सहयोग गर्दै हस्तान्तरण गर्नुपर्छ ।