झापामा यस वर्ष चार हात्ती मरे

बिहिबार, ३ साउन, २०८१
डिजिटल संस्करण

झापामा एक वर्षको अवधिमा ६ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष ०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी ६ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।

विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको संख्या उच्च हो । आव ०६७/६८ देखि आव ०७९/८० सम्म एक–दुई र आव ०७५/७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्यांकमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले १० लाख रुपैयाँका दरले र ४० लाख र अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत  ३० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई  दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउँछन् ।

‘झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ,’ उनले भने, ‘गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।’ हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उनी बताउँछन् । 

 गत आवमा जिल्लामा हात्तीपीडितका लागि र एक करोड ५० लाख रुपैयाँ राहत माग गरिए पनि  ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउँछन् । उनी भन्छन्, ‘राहत रकम वेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौँ ।’ झापामा आव ०६७/६८ देखि आव ०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु. नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जंगलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँसलगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरनलगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताए । 
 

See More On

सुझावित समाचार