एपिएफले थाल्यो एएफसी च्याम्पियन्स लिगको प्रशिक्षण

बुधबार, २ साउन, २०८१
डिजिटल संस्करण

एसियन फुटबल महासंघ (एएफसी)ले पहिलोपटक आगामी अगस्टबाट महिलाको च्याम्पियन्स लिग आयोजना गर्दै, नेपालको प्रतिनिधित्व गर्र्दै लिग विजेता एपिएफले पहिलोपटक एसियाकै ठूलो प्रतिस्पर्धामा भाग लिँदै 

राष्ट्रिय महिला लिग विजेताका रूपमा एपिएफ क्लबले एएफसी च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउँदै छ । च्याम्पियन्स लिगको प्रारम्भिक खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ । आयोजक एएफसीले प्रारम्भिक चरणको खेल तालिका सार्वजनिक गरे पनि स्थल तोकेको छैन । नेपालबाट प्रतिनिधित्व गर्ने एपिएफको महिला टोलीले मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताका लागि एपिएफको नाम सिफारिस गरेको हो ।

हलचोकस्थित एपिएफ मैदानमा खेलाडीहरूले प्रशिक्षण सुरु गरेका हुन् । पहिलोपटक सहभागी हुन लागेको एपिएफले एएफसी च्याम्पियन्स लिगमा उत्कृष्ट नतिजा निकाल्न राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङलाई भित्र्याएको छ । अनुभवी गोलरक्षक प्रशिक्षक विनोद डंगोल पनि एपिएफसँग आबद्ध भएका छन् । तामाङ र डंगोलले खेलाडीहरूलाई प्रारम्भिक प्रशिक्षण गराएका छन् । 

गत ३२ जेठमा एएफसीले एसियाली महिला खेलाडीहरूको स्तर बढाउन नेपालसहित २२ देशबाट समान एक क्लबलाई प्रतियोगितामा सहभागी गराउने निर्णय गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला राष्ट्रिय फुटबल लिग पूरा नहुँदै एपिएफलाई विजेता बनाएको थियो । लिग च्याम्पियनका रूपमा एपिएफले मौका पाएको हो । 

एएफसी च्याम्पियन्स लिगमा सहभागी टोलीहरूले दुई चरणमा प्रतिस्पर्धा गर्नुपर्ने एएफसीले जनाएको छ । फिफा तथा एएफसीअनुसार जापान, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, उत्तर कोरिया, भियतनाम, फिलिपिन्स र चाइनिज ताइपेईका आठ क्लबले सीधै समूह चरणमा स्थान बनाएका छन् । नेपालसहित भारत, म्यानमार, थाइल्यान्ड, भुटानलगायत १३ राष्ट्रले प्रारम्भिक छनोट हुँदै समूह चरणमा स्थान बनाउनेछन् । 

एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्य
एपिएफमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य रहेको छ । भविष्य सुनिश्चितसँगै राम्रो पारिश्रमिकका साथ नियमित खेल्न अवसर पाउने हुँदा अधिकांश नेपाली महिला खेलाडी विभागीय क्लब एपिएफ, नेपाल पुलिस र त्रिभुवन आर्मीबाट खेलिरहेका छन् । पुलिस र आर्मीका तुलनामा एपिएफमा राष्ट्रिय खेलाडीहरूको बाहुल्य छ । यसकारण नै घरेलु फुटबलमा एपिएफले एकछत्र राज गर्दै आएको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी एपिएफमै छन् । 

राष्ट्रिय टोलीकी पूर्वकप्तान अनु लामाको कप्तानीमा रहेको एपिएफले युवा खेलाडीसहित मंगलबार प्रशिक्षण सुरु गरेको जनाएको छ । प्रशिक्षणमा राष्ट्रिय टोलीका अधिकांश खेलाडी देखिन्थे । 

राष्ट्रिय टोलीकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, प्रीति राई, गीता राना, सरु लिम्बू, रेनुका नगरकोटे, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनिता केसीलगायत छन् । यसपटक आर्मी क्लबबाट खेलेकी रश्मीकुमारी घिसिङसमेत एपिएफमा आबद्ध हुँदा क्लब थप बलियो भएको छ । नेपाली फुटबल इतिहासमा पहिलोपटक युरोपको फ्रेन्च लिगमा आबद्ध भएकी सावित्रा भण्डारीले लोनमा एपिएफबाट च्याम्पियन्स लिग खेल्ने सम्भावना छ । सिनियर मात्र होइन, एपिएफमा साथै, उमेर समूहमा नेपालबाट प्रतिनिधित्व गरेका खेलाडीको बाहुल्य छ । 

महिला फुटबलका लागि एसियाको शीर्षस्तरको लिग खेल्न पाउनु राम्रो अवसर रहेको एन्जिलाले बताइन् । ‘क्लबस्तरमा हामीले एएफसीको प्रतियोगितामा अवसर नै पाउँदैनौँ । पहिलो अवसरमै एएफसी च्याम्पियन्स लिग खेल्न पाएका छौँ,’ एन्जिलाले भनिन्, ‘नेपाली महिला फुटबल राम्रो छ भनेर देखाउने सुनौलो अवसर हो ।’ 

१३ क्लबले प्रारम्भिक छनोट खेल्नुपर्ने
एएफसीका अनुसार अन्तिम चरणमा तीन समूहका समान चार क्लब हुनेछन् । सहभागी १३ क्लबले प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ । प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समूहमा तीन क्लब हुनेछन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट २५ देखि ३१ अगस्ट २०२४ सम्म हुनेछ । समूहका खेल ६ देखि १२ अक्टोबरसम्म हुनेछ । फाइनल खेल मे २०२५ मा हुने तालिका छ । समूह चरणको खेल चीन र भियतनाममा हुनेछ । समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ । 

उज्वेकिस्तान, म्यानमार, इरान, भारत, जोर्डन, हङकङ, लाओस, मलेसिया, नेपाल, युनाइटेड अरब इमिरेट्स, सिंगापुर, भुटान र साउदी अरेबियाले प्ले अफको माध्यमबाट अर्को चरणमा स्थान बनाउनेछन् । 

एएफसीमा १९ र फिफा वरीयतामा ९८औँ स्थानमा नेपाल
महिला फिफा वरीयता नेपाल ९८औँ स्थानमा रहेको छ । एएफसी च्याम्पियन्स लिगको वरीयतामा नेपाल १९औँ स्थानमा छ । एएफसीले फिफा वरीयताअनुसार वर्गीकरण गर्दा नेपालले एसियामा १९औँ स्थान पाएको हो । च्याम्पियन्स सहभागीमध्ये साउदी अरेबिया पुछारमा छ । साउदी अरेबिया फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ । एएफसीमा साउदी अरेबिया ४०औँ स्थानमा छ । 

नेपालभन्दा मुनि साउदी अरब इमरेट्स (११४), सिंगापुर (१३८) र भुटान (१७३)औँ स्थानमा छ । नेपालभन्दा माथि मलेसिया रहेको छ । एएफसीको महिला वरीयतामा जापान शीर्ष स्थानमा छ । समग्रमा जापान फिफा वरीयताको सातौँ स्थानमा छ । यसैगरी, अस्ट्रेलिया एसियामा तेस्रो तथा फिफामा १२औँ वरीयता प्राप्त राष्ट्र हो । चीन फिफा वरीयतामा १९औँ र एएफसीमा पाँचौँ स्थानमा रहेको छ । छिमेकी भारतले फिफामा ६७औँ र एसियामा १३औँ स्थान पाएको छ ।

एपिएफ ‘ड्र’ को पोट ३ मा
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनोटको मंगलबार ड्र निकालिएको छ । नेपालबाट प्रतिनिधित्व गर्ने एपिएफ ‘ड्र’ को पोट ३ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले सार्वजनिक गरेको पोटमा नेपालसँगै आबुधाबी (युएई), रोयल थिम्पु (भुटान), अल नासर (साउदी अरब) र लियोन सिटी (सिंगापुर) रहेका छन् । ‘ड्र’ १८ जुलाईमा मलेसियामा हुने एएफसीले जनाएको छ ।

See More On

सुझावित समाचार