सन् २००३ मा लडर्स मैदानमै करिअर सुरु गरेका इंग्ल्यान्डका फास्ट बलर जेम्स एन्डर्सनले बिहीबार वेस्ट इन्डिजविरुद्ध अन्तिम टेस्ट खेले
इंग्ल्यान्डको क्रिकेट इतिहासमा सधैँ सम्झिरहने बलर हुन्, जेम्स एन्डर्सन । दायाँहाते फास्ट बलर एन्डर्सन इंग्ल्यान्डका लागि टेस्ट फम्र्याटमा सर्वाधिक विकेट लिने बलरसमेत हुन् । उनले आफ्नो २१ वर्षको करिअरमा एक सय ८८ टेस्टमा सात सय चार विकेट लिए । इंग्ल्यान्डका अन्य बलर उनीभन्दा निकै पछि छन् । टेस्ट तथा एकदिवसीय क्षेत्रमा इंग्लिस टोलीका लागि नम्बर एक बलरका रूपमा रहेका उनै एन्डर्सनले बिहीबार वेस्ट इन्डिजविरुद्धको लडर्स टेस्टमा सन्न्यास लिएका छन् ।
संयोग कस्तो रह्यो भने २१ वर्षअघि उनले लडर्स मैदानबाट अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गरेका थिए । क्रिकेटको मक्का मानिने लडर्समै सन्न्यास लिँदा उनी भावुक मात्र भएनन्, अत्यधिक खुसीसमेत देखिन्थे । ‘वास्तवमै यो बिहानीमा म केही भावुक बनेको थिएँ, मैदानमा प्रवेश गर्नुअघि दुई टिमका खेलाडी लाइनमा थिए, दर्शकले पनि मलाई त्यतिकै माया गरेको देखिन्थ्यो,’ सन्न्यास घोषणा गर्दै उनले भने, ‘मैले आफूलाई रोक्न निकै कोसिस गरेँ, तर आँसुलाई मैले रोक्न नै सकिनँ ।’
इंग्लिसबाट दुई दशक बिताउँदा गर्वको महसुस गरेको उनको भनाइ छ । ‘एक फास्ट बलरका रूपमा दुई दशक टोलीमा रही प्रतिस्पर्धा गर्न पाउनु आफैँमा चुनौती थियो, त्यसमाथि इंग्लिस टोलीमा स्थान बनाउन उत्तिकै गाह्रो थियो, यस्तो परस्थितिमा मैले २० वर्ष एक फास्ट बलरका रूपमा देशलाई योगदान गरेँ,’ अनुभव बाँड्दै उनले भने, ‘विगतमा केही समय इन्जुरी भएँ, यद्यपि, मैले कहिल्यै हरेस खाइनँ, केवल मेरो ध्यान इंग्ल्यान्डको सेतो जर्सीबाट खेल्ने थियो ।’ लडर्स टेस्टमा उनका साथमा श्रीमती तथा छोरी थिए ।
टेस्टमा तेस्रो सर्वाधिक विकेट लिने बलर
टेस्टमा एन्डर्सन तेस्रो सर्वाधिक विकेट लिने बलर हुन् । उनले २००३ देखि २०२४ सम्म तीन सय ५० इनिङ्समा सात सय चार विकेट लिएका छन् । यद्यपि, उनको चाहना आफ्नो विकेट संख्या सात सय पाँच पुर्याउनु थियो । तर, गुडाकेसले सहज क्याच मिस गर्दा एन्डर्सनको यो सपना पूरा भएन । ‘क्याच मिस नहुँदा एउटा लक्ष्य पूरा हुने थियो, यद्यपि, यतिमै म खुसी छु,’ एन्डर्सनले भने । टेस्ट खेलमा श्रीलंकाका स्पिनर मुथैया मुरलीधरणले एक सय ३३ खेलमा विश्व कीर्तिमानी रूपमा आठ सय विकेट लिएका छन् ।
उनले १९९९–२०१० सम्म श्रीलंकाली टोलीबाट खेल्दै विश्व कीर्तिमान राखेका थिए । टेस्ट क्रिकेटमा सात सय विकेट संख्या पहिलोपटक पार गर्ने अस्ट्रेलियाका सेन वार्न हुन् । वार्नले एक सय ४५ खेलमा सात सय आठ विकेट लिएका थिए । यो विधामा धेरै विकेट लिने तेस्रो बलर बनेका एन्डर्सनले एकै इनिङमा ३२ पटक पाँच विकेट लिएका छन् । उनले ३२ पटक नै चार विकेट प्रदर्शन गरेका छन् । टेस्ट करिअरमा उनले ६ हजार ६ सय ७२ ओभर बलिङ गरे । यसक्रममा उनले ४० हजार ३७ बल फ्याँके ।
एसेस विजेता बलर
यो दुई दशकमा इंग्ल्यान्डले ८३ टेस्ट खेल जितेको थियो । यस उपलब्धिमा एन्डर्सनको योगदान पनि उत्तिकै थियो । टेस्ट करिअरमा उनले सन् २०१०–११ को एसेस सिरिज कहिल्यै बिर्सन सक्दैनन् । अस्ट्रेलियाविरुद्धको एसेजमा इंग्ल्यान्डले २–१ ले बाजी मारेको थियो । त्यसलगत्तै इंग्ल्यान्डले भारतलाई भारतकै भूमिमा २–१ ले हरायो । यो दुवै सिरिजमा उनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । ‘अस्ट्रेलिया र भारतको भूमिमा उनीहरूलाई हराउँदा एक किसिमको आनन्द प्राप्त भएको थियो । किनभने, यी दुवै टेस्ट राष्ट्रलाई उनीहरूकै भूमिमा हराउन निकै मुस्किल छ, हामीले नसोचेको सफलता हात पारे,’ १३ वर्षअघिको इतिहास सम्झँदै उनले भने, ‘अझ इंग्ल्यान्डको जितमा महत्वपूर्ण विकेट लिएँ, ती विकेटहरूले मलाई सधैँ विशेष बनाउने गर्छन् ।’