इरानका अली दाइको कीर्तिमान तोड्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसी दोस्रो सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बनेका छन् । कोपा अमेरिका– २०२४ को बुधबार भएको सेमिफाइनलमा क्यानडालाई २–० ले हराउँदा मेसीले एक गोल गरेका थिए । यससँगै मेसीले अन्तर्राष्ट्रिय गोलसंख्या १०९ पुर्याएका छन् । इरानका अली दाइले १०८ अन्तर्राष्ट्रिय गोल गोल गरेका थिए । विश्व फुटबलमा सय गोल गर्ने उनी पहिलो खेलाडी हुन् । भारतका कप्तान सुनील क्षेत्री ९४ गोलसहित चौथो स्थानमा छन् । उनले पनि यसै वर्ष सन्न्यास लिए । ८९ गोल मोख्तर दहारी र बेल्जियमबाट खेलिरहेका अट्याकर रोमेलु लुकाकुले समान ८५ गोल गरेका छन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), गोल– १३०
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले अहिलेसम्म एक सय ३० गोल गरेका छन् । यस क्रममा उनले दुई सय १२ खेल खेले । व्यावसायिक रूपमा उनी साउदी क्लब अल नासेरमा आबद्ध छन् । ३९ वर्षीय रोनाल्डो जर्मनीमा चलिरहेको युरो च्याम्पियसिपमा गोलविहीन भए । पाँचपटक बालोन डि’अर जितेका रोनाल्डोले एकपटक युरोकप र पाँचपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । युरोपियन फुटबलमा खेलिरहँदा उनले तीनपटक युरोपियन पुरुष वर्ष खेलाडी र गोल्डेन बुट जिते । उनले करिअरमा ३३ ट्रफी उचालेका छन् । १८ वर्षको उमेरमा काजखस्तानविरुद्ध २००३ मा डेब्यु गरेका रोनाल्डोले पहिलो गोल युरोकप– २००४ मा ग्रिसविरुद्ध गरेका थिए ।
लियोनल मेसी (अर्जेन्टिना), गोल– १०९
कोपा अमेरिका– २०२४ को सेमिफाइनलमा एक गोल गरेका मेसी दोस्रो स्थानमा उक्लिए । मेसीले एक सय ८६ खेलमा औसत ०.५८ गोल गरेका छन् । ३७ वर्षीय मेसी अमेरिकी मेजर लिग खेलिरहेका छन् । २००३ मा क्याटलान क्लब बार्सिलोनाको एकेडेमी हुँदै मेसीले २०२१ सम्म खेलेका थिए । दुई वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) खेलेपछि डेभिड बेक्ह्यामको लगानीमा रहेको इन्टर मियामी पुगेका छन् । कीर्तिमानी आठपटकका बालोन डि’अर विजेता मेसीले पछिल्लो वर्ष फिफा विश्वकप र कोपा अमेरिकाको उपाधि देशलाई जिताए । मेसी ठूला मेजर फुटबल प्रतियोगितामा ह्याट्रिक उपाधि जित्ने योजनामा छ । मेसीले करिअरमा ४३ ट्रफी जितेका छन् ।
अली दाइ (इरान), गोल– १०८
इरानका अली दाइ १०८ गोलका साथ तेस्रो स्थानमा छन् । इरानका सर्वकालीन गोलकर्ता अली अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा पहिला सय गोल गर्ने खेलाडी हुन् । उनीपछि मात्रै रोनाल्डो र मेसीले यो उपलब्धि हासिल गरेका हुन् । रोनाल्डोले अलीको कीर्तिमान २०२१ मा तोडेका थिए । अलीले १४८ खेलमा १०८ गोल गरे । २००६ मा अन्तर्राष्ट्रिय खेल करिअर अन्त्य गरेका ५५ वर्षीय अली अहिले प्रशिक्षक पेसामा छन् । उनले १९९६ मा दक्षिण कोरियाविरुद्ध गरेको गोल निकै लोकप्रिय छ ।
सुनील क्षेत्री (भारत), गोल – ९४
भारतका ३९ वर्षीय सुनील क्षेत्रीले गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । भारतीय फुटबलमा लामो समय राज गरेका क्षेत्रीले युवा खेलाडीको आगमनलाई प्रेरित गर्न सन्न्यास लिएका थिए । भारतबाट १५१ खेल खेल्दा उनले ९४ गोल गरेका छन् । उनी भारतीय फुटबलमा सर्वाधिक गोल गर्ने र खेल खेल्ने खेलाडी हुन् । उनले व्यावसायिक फुटबल करिअर मोहन बगानबाट सुरु गरेका थिए । तेलंगनाका क्षेत्रीले व्यावसायिक फुटबल भने अधिकांश समय स्वदेशबाट नै खेलेका छन् ।
मोख्तर दाहरी (मलेसिया), गोल– ८९
मलेसियाका मोख्तर दाहरी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पाँचौँ स्थानमा पर्छन् । उनले मलेसियाका लागि १४२ खेलमा ९४ गोल गरेका छन् । औसतमा उनले ०.६२ गोल गरेका छन् । उनी मलेसियन फुटबलका सर्वाधिक गोलकर्ता पनि हुन् । सन् १९७२ बाट १९८५ सम्म राष्ट्रिय टोलीबाट खेलेपछि उनले केही समय प्रशिक्षणको जिम्मेवारी सम्हाले । १९९१ मा ३७ वर्षको उमेरमै उनको मृत्यु भएको थियो । उनले जाकर्तामा श्रीलंकाविरुद्ध गोल गर्दै अन्तर्राष्ट्रिय फुटबल सुरु गरेका थिए ।