संखुवासभाको खाँदबारी नगरपालिका– ६ का किसानलाई उन्नत (मुर्रा) जातका भैँसीका ५० वटा पाडी वितरण गरिएको छ ।
मंगलबार एक कार्यक्रमबीच खाँदबारी– ६ पांठामा नै पुगेर किसानलाई पाडी वितरण गरिएको हो । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाले किसानलाई व्यावसायीकरणमा जोड दिँदै ७५ प्रतिशत अनुदानमा भैँसीको पाडी वितरण गरेकाे हो ।
चालू आर्थिक वर्ष ०८०/८१ को कार्यक्रमअनुसार खाँदबारी नगरपालिका– ६ नम्बर वडाका किसान दुग्धजन्य वस्तु उत्पादनमा यसअघि नै चिनिएको, खाँदबारी बजार र आसपासका क्षेत्रमा यही क्षेत्रबाट दुध निर्यात हुँदै आएको देखिएकाले अझै व्यवसायीकरणमा जोड दिँदै उन्नत जातका भैँसीका पाडी वितरण गरिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र संखुवासभाका कार्यालय प्रमुख हिमालय पोखरेलले बताए । उनले कार्यालयको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा उन्नत जातका भैँसीका पाडी वितरण गरिएको बताए । स्थानीय किसानको चौतारी कृषि सहकारीमार्फत उन्नत जातका भैँसीका पाडी वितरण गरिएको हो ।
कार्यालय प्रमुख पोखरेलका अनुसार चालू आवको कार्यक्रमअनुसार किसानलाई उन्नत जातका भैँसीका पाडी वितरण गर्न कुल ३७ लाख ५० हजार रुपैयाँ बजेट रहेको थियो । तीमध्ये १८ लाख रुपैयाँका ५० वटा पाडी खरिद गरी वितरण गरिएको हो । बारा र पर्साबाट खाँदबारीसम्म ५० वटा पाडी ल्याउन ढुवानीसहित प्रतिगोटा ३६ हजार रुपैयाँ परेको कार्यालय प्रमुख पोखरेलको भनाइ छ । ५० वटा पाडीमध्ये मंगलबार २५ वटा पहिलो चरणमा वितरण गरिएको छ भने २५ वटा बाटोमा आउँदै गरेकाले दोस्रो चरणमा वितरण गरिने कार्यालयले जनाएको छ ।
किसानलाई भैँसीको गोठ सुधार, दुग्धजन्य सामग्री खरिद, औषधि, भ्याक्सिन र उन्नत जातका घाँस वितरणलगायतका खर्चका लागि १८ लाख रुपैयाँ दिइएको कार्यालय प्रमुख पोखरेलको भनाइ छ । कुल कार्यक्रममा किसानले २५ प्रतिशत जनश्रमदानबापत चार लाख ५० हजार रुपैयाँ व्यहोरेका छन् ।
खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उन्नत जातका भैँसी उपलब्ध भएपछि यहाँ किसानको जीविकापार्जनमा मद्दत पुग्ने र केही वृद्धि हुनेमा आशावादी रहेको बताए । उनले समृद्ध खाँदबारी बनाउने नारालाई साकार बनाउन कृषि क्षेत्रको विकास गर्न खाँदबारी नगरपालिका सदैव लागिपरेको बताए ।