भारतका लागि महत्वपूर्ण कूटनीतिक जितका रूपमा रुसले उसको सेनामा कार्यरत भारतीय नागरिकको स्वदेश फिर्तीलाई सहज बनाउने सहमति जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार मस्कोस्थित राष्ट्रपति निवासमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटवार्ताका क्रममा यो मुद्दा उठाएका थिए ।
भारतभित्र रुसी सेनामा काम गर्ने भारतीयको मुद्दालाई विपक्षी दलले बलियो गरी उठाइरहेका छन् । कंग्रेसले यस विषयमा मोदी सरकार कतै युक्रेन युद्धमा रुसको पक्षधर त होइन भन्ने प्रश्न उठाएको थियो ।
मस्कोस्थित भारतीय दूतावासको तथ्यांकअनुसार कम्तीमा ५० जना भारतीय नागरिक अहिले रुसी सेनामा कार्यरत छन् । कम्तीमा दुई भारतीय नागरिक रुसी सेनामा सामेल भएर युद्धमा सहभागी हुँदा मारिएको पुष्टि भइसकेको छ ।