हमासले गाजाको युद्धविराम प्रस्तावसँग सकारात्मक र लचिलो रहेको जिकिर गर्दै अर्को कदम चाल्नु इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दायित्व भएको हमासका एक वरिष्ठ अधिकारीले बताएका छन्।
‘यदि प्रशासनले युद्ध समाप्त गर्न चाहेको खण्डमा नेतान्याहुलाई युद्धविराममा पुग्न दबाब दिनुपर्ने हमासको राजनीतिक ब्युरोका सदस्य हुसाम बद्रानले विज्ञप्तिमार्फत जनाएका छन्। द्वन्द्वमा प्यालेस्टिनी जनता पीडित रहेको उल्लेख गर्दै इजरायली सेनाले पीडितको झुटो दाबीको पछाडि लुकाउने गरेको बताएका छन्।
इजिप्टेली मिडियाको रिपोर्टअनुसार युएस सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशक विलियम बर्न्स कैदी आदानप्रदान सम्झौता र गाजापट्टीमा नौ महिना लामो युद्धको अन्त्यसम्बन्धी वार्तामा भाग लिन यस हप्ता कायरो जाने अपेक्षा गरिएको छ। कैदी वार्तामा संलग्न एजेन्सीहरूका अधिकारीसहित इजरायली प्रतिनिधिमण्डल गाजामा युद्धविराम वार्ता पुनः सुरु गर्न कायरो पुग्ने अपेक्षा गरिएको मिडियाले जनाएका छन्।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमामा हमासले गरेको हिंसाविरुद्ध बदला लिन गाजापट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ। जसमा एक हजार २०० मानिस मारिए भने २३० भन्दा बढीलाई बन्धक बनाइयो।
आक्रमण सुरु भएदेखि नै इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले इजरायल र हमासबीच युद्धविराम र कैदी आदान–प्रदान गर्ने प्रयास गर्दै आएका छन्।