भैरहवा सेजले सुविधा नदिएको उद्योगीको गुनासो

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

सेज स्वायत्त भए पनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटक–पटक धाउनुपर्ने बाध्यता

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)भित्र नियम तथा सम्झौताअनुसार सेवा–सुविधा पाउन नसकेको भन्दै गुनासो गरेका छन् । उनीहरूले सेजभित्र उद्योग खोलेकोमा पश्चात्ताप हुन थालेको भन्दै बाहिरिनेसम्मको चेतावनी दिएका छन् । 

विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना तथा सञ्चालन र प्रवद्र्धनसम्बन्धी बुधबार ओयोजित अन्तत्र्रिmया कार्यक्रममा आफ्ना समस्या राख्दै उद्योगीहरूले सेजभित्र विभिन्न समस्या देखिएको बताएका हुन् । सरकारले विभिन्न आश्वासन दिएर सेजभित्र उद्योग स्थापनाको आह्वान गरे पनि विद्युत् आपूर्ति, खानेपानीको व्यवस्थापन, असुरक्षा, महँगो भाडादरलगायत समस्या भोगिरहेको बताएका छन् । 

सेजले सम्झौताबमोजिमका सेवा उपलब्ध नगराएको बताउँदै सेजभित्र निरन्तर उद्योग सञ्चालनको वातावरण नरहेको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बताए । पञ्चकन्या स्टिल उद्योग सञ्चालन गर्दै आएको ग्रुपले विद्युत्को समस्या, महँगो भाडादर, उचित व्यवस्थापनको अभाव आदि कारणले उद्योग बन्द गर्न चाहेको बताए । यही अवस्था रहे केही वर्षमा सेजभित्र उद्योगी भरिने होइन सेज छाड्दै जानेछन् उनले भने । ‘सेजमा प्रवेश गर्दा धेरै उत्साह रहे पनि सुरुवातदेखि अहिलेसम्म भोग्नुपरेका समस्याका कारण उद्योगबाहिर सार्ने मनस्थितिमा पुगेका हौँ,’ उनले भने ।

कार्यक्रममा शक्ति मिनिरलका प्रबन्धक दीपककुमार झा, उद्योगी केशव भट्टराई, राजेन्द्र भट्टराई, सरोज कँडेललगायतले सेजभित्र उद्योग स्थापना गर्नु बाहिरको तुलनामा कुनै सहुलियत नपाएको बताए । सेज आफैँमा स्वायत्त रहे पनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटक–पटक धाउनुपर्ने बाध्यता रहेको उनीहरूले बताए । विशेष आर्थिक क्षेत्र भनिए पनि भन्सार तथा आन्तरिक राजस्व कार्यालयमा दोहोरो करको मारमा परेको उनीहरूले गुनासो गरे । 

उद्योगपति अजयमान श्रेष्ठले सरकारको अस्पष्ट उद्योग नीतिका कारण जेठ मसान्तभित्र दुई सय ५० उद्योग बन्द भएको बताए । राजनीतिक अस्थिरता, रेमिट्यान्स निर्भर सोच र उद्योगमैत्री वातावरण नहुँदा नयाँ उद्योग दर्ता हुने क्रम पनि घट्दै गइरहेको उद्योगी श्रेष्ठले बताए । सेजभित्रका उद्योगको अवस्था पनि उस्तै रहेको भन्दै श्रेष्ठले २२ वर्ष पहिला स्थापना गरिएको सेजको पुनर्मूल्यांकन गनुपर्ने बताए । कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विशेष आर्थिक क्षेत्र सेज र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रका विकासका आधार भए पनि दुवै सञ्चालन हुन नसक्दा उद्योगी व्यवसायी निराश हुनुपरेको बताए । ‘०५८ सालमा स्थापना भएको सेज अहिले पनि उस्तै अवस्थामा रहनु दुर्भाग्यपूर्ण हो,’ उनले भने, ‘नीति–निर्माण गर्ने व्यतिmले उद्योगको विषयमा अध्ययन गर्न जरुरी छ ।’

उद्योगीका समस्या सुनिसकेपछि सेज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले सेजबाट हुन सक्ने सानातिना समस्याको तत्काल सुधार गर्ने प्रतिबद्धता जनाए । सबै समस्यालाई लिपिबद्ध गरेर समितिमा पेस गरी समाधानका लागि पहल गर्नेसमेत उनले उद्योगीहरूलाई आश्वासन दिए । भन्सारसम्बन्धी समस्या समाधानका लागि नीतिगत र व्यावहारिक समस्याको पहिचान गरी समाधान गरिने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

०५८ सालमा स्थापना गरिएको सेजको हालसम्म तीनपटक उद्घाटन गरिएको छ । सेजको वेबसाइटका अनुसार स्थापनाको २२ वर्षमा हाल सेजभित्र जम्मा सातवटा उद्योग सञ्चालनमा रहेका छन् । 

See More On

सुझावित समाचार