चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा कोशी प्रदेशमा विभिन्न १४ वस्तुको उत्पादन बढेको छ भने ११ वस्तुको उत्पादन घटेको छ । । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको कोशी प्रदेशको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले ११ वस्तुको उत्पादन औसतमा २२.५० प्रतिशतले घटेको देखाएको छ । भटमासको तेल, घरेल धातुको सामान, गार्मेन्ट, सिमेन्ट, चामल, सिन्थेटिक कपडा, साबुन, चाउचाउ, कागज, प्रशोधित चिया र प्रशोधित दुग्धको उत्पादन घटेको हो ।
समीक्षा अवधिमा भटमासको तेलको उत्पादन सबैभन्दा बढी ५५.८ प्रतिशतले घटेको छ भने इँटाको उत्पादन सबैभन्दा धेरै १२८ प्रतिशतले बढेको छ । यसअघि भारतले नेपालबाट निर्यात हुने तेलमा भन्सार छुट दिने कारण भटमासको तेल भारततर्फ निकासी हुँदै आएको थियो । तर, अहिले भारतको उत्पादन लागत पनि कम हुन थालेपछि नेपालको निर्यात प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
निकासी घट्न थालेपछि उत्पादन पनि घटेको नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । ‘विगतमा नेपाली बजारभन्दा भारतीय बजारमा उत्पादन लागत बढी भएका कारण नेपालबाट भटमासको तेल निर्यात भइरहेको थियो । तर, केही वर्षदेखि भारतीय बजारको उत्पादन लागत कम भएका कारण नेपालमा उत्पादित भटमासको तेल निर्यात गर्न नसकिने अवस्था भई तेल उद्योगहरू महिनामा लगभग १० दिन मात्र सञ्चालन हुँदै आइरहेका कारण भटमासको तेलको उत्पादन निरन्तर घट्न गएको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा सिमेन्टको उत्पादन ३४.९ प्रतिशतले घटेको छ । निर्माण गतिविधिमा आएको कमीका कारण सिमेन्टको उत्पादन पनि घटेको उनले बताए । यस्तै, घरेलु धातुको सामान ५२.१ प्रतिशत, गार्मेन्टको ५०.३ प्रतिशत, चामलको १७.२ प्रतिशत, सिन्थेटिक कपडाको १३.२ प्रतिशत, साबुनको ९.२ प्रतिशत, चाउचाउको ८.१ प्रतिशत, कागजको ३.९ प्रतिशत, प्रशोधित चियाको १.७ प्रतिशत र प्रशोधित दुग्धको १.३ प्रतिशतले उत्पादन घटेको छ ।
अनियमित विद्युत् आपूर्ति, आयातीत वस्तुसँगको प्रतिस्पर्धात्मक क्षमतामा कमी, दक्ष कामदारको अभाव, घरेलु बजारमा मागमा आएको कमी तथा गत वर्षको मौज्दात बाँकी रहेका कारण घरेलु धातुका सामान, गार्मेन्ट, सिन्थेटिक कपडा आदिको उत्पादन घटेको उद्यागीहरू बताउँछन् । ठूला आयोजनाको निर्माणले गति नलिएको तथा सार्वजनिक निर्माणमा आएको कमीले सिमेन्टको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ । भारतबाट धान आयात गरी उत्पादन गरिएको चामलले भारतीय चामलसँगै प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा चामलको उत्पादन घटेको छ । तयारी वस्तु र कच्चा पदार्थको भन्सार दरमा खासै अन्तर नभएकाले उत्पादन लागत बढ्न गई आयातीत उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेका कारण साबुनको उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ ।
१४ वस्तुको उत्पादन वृद्धि
कोशीमा १४ वस्तुको उत्पादन बढेको छ । प्लास्टिकको सामान, तोरीको तेल, धागो, बिस्कुट, कच्चा छाला, जुटका सामान, वनस्पति घिउ, फलामको छड–पत्ती, चिनी, चप्पल, जिआई तार, पशुदाता, टायर र इँटाको उत्पादन औसतमा ३४.४६ प्रतिशतले बढेको छ ।त्यसमा इँटाको उत्पादन सबैभन्दा धेरै १२८ प्रतिशतले बढेको थियो । गत आवमा इँटाको उत्पादन करिब शून्यको अवस्थामा भए पनि अहिले उच्च मात्रामा बढेको उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताए । तर, अझै सामान्य अवस्थामा आइनसकेको उनको भनाइ छ ।
‘गत वर्ष उत्पादन कमजोर भएका कारण यो वर्ष वृद्धिदर उच्च देखिएको हुन सक्छ । तर, इँटा उद्योगहरू सामान्य अवस्थामा भने अझै पुगेका छैनन्,’ उनले भने ।तथ्यांकअनुसार अहिले इँटा उद्योगहरू ८.१ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन् ।
तथ्यांकअनुसार समीक्षा अवधिमा टायरको ९७ प्रतिशत, पशुदाना ७३.९ प्रतिशत, जिआई तार ४२ प्रतिशत, चप्पल ३८.९ प्रतिशत, चिनी ३५.७ प्रतिशत, फलामको छड तथा पत्तीको १९ प्रतिशत र वनस्पति घिउको १९ प्रतिशतले उत्पादन बढेको छ । यसैगरी, जुटका सामानको ७.८ प्रतिशत, कच्चा छालाको ७.५ प्रतिशत, बिस्कुटको ६.७ प्रतिशत, धागोको ६.६ प्रतिशत, तोरीको तेलको ३ प्रतिशत र प्लास्टिकको तेलको ०.६ प्रतिशतले उत्पादन बढेको तथ्यांकमा उल्लेख छ ।
४१.७ प्रतिशत क्षमतामा सञ्चालन
समीक्षा अवधिमा कोशीका उद्योगहरू क्षमताको ४१.७ प्रतिशत मात्रै सञ्चालन भएको देखिको छ । अध्ययनमा उक्त प्रदेशका ४३ वटा उद्योगलाई समावेश गरिएको थियो । गत आवको सोही अवधिमा उक्त उद्योगको औसत क्षमता उपयोग ४०.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा विशेष गरी चप्पल, टायर तथा ट्युब, जिआई तार, बिस्कुट, चिनी उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा वृद्धि गर्ने प्रतिवेदनमा उल्लेख छ ।