संघीय संसदमा मन्त्री श्रेष्ठको जवाफ : संसद्मा भन्दा खेलकुदमा डरलाग्दो राजनीति

सोमबार, ११ असार, २०८१
डिजिटल संस्करण

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा भन्दा खेलकुदमा राजनीति डरलाग्दो भएको बताएका छन् । प्रतिनिधिसभामा आइतबार विनियोजन विधेयकअन्तर्गत खेलकुद मन्त्रालयको शीर्षकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले खेलकुद क्षेत्र पञ्चायतजस्तै भएको प्रतिक्रिया दिएका छन् ।


‘खेलकुद क्षेत्र अहिले पनि पञ्चायतजस्तै छ । सय दिनमा तीतो अनुभव भएको छ । खेलाडीको हकहितभन्दा संघहरूबीचको राजनीति डरलाग्दो हुने रहेछ,’ उनले भने, ‘संसद्मा भन्दा खेलकुदमा डर छ, ०४७ देखिको विवाद समाधान गर्न लाग्नुपरेको छ । शासकीय बेथिति धेरै छ ।’ उनले खेलकुदका प्रमुख निकाय नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई सुदृढ गर्नुपर्ने बताए । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिन पूरा हुँदा खेलकुदमा डरलाग्दो राजनीतिसँगै विवादै–विवादले घेरिएको अनुभव गरेको उनको भनाइ छ । 

मूलपानी र त्रिवि मैदानको फ्लड लाइट प्राथमिकतामा 
श्रेष्ठले आगामी आव ०८१/८२ मा पूर्वाधार निर्माणसँगै नीति–नियमलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले मूलपानी र त्रिवि खेलमैदानमा फ्लड लाइट जडान नै पहिलो प्राथमिकतामा रहेको बताए । ‘पूर्वाधार निर्माणका लागि मूलपानी क्रिकेट रंगशाला निर्माण, त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानलाई प्राथमिकतामा राखेका छौँ,’ मन्त्री श्रेष्ठले भने, ‘खेलाडी फिटनेस हल तथा सामग्री व्यवस्था, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर र खेलकुद तालिम केन्द्र स्थापना कार्यलाई ध्यान दिएका छौँ ।’ 

सरकारले मूलपानीसहित मोरङ र धनगढीको फाप्ला मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा सामावेश गरेको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला स्थानीय तहले बनाउने निर्णय भएको थियो । मन्त्री श्रेष्ठले तत्काललाई मूलपानी रंगशाला बनाउन ५० करोड र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ६० करोड विनियोजन भएको जानकारी दिए । 

१० खेलको प्रशिक्षण गर्न चार करोड 
पेरिस ओलम्पिकदेखि विभिन्न प्रतियोगिताका लागि दुई सय खेलाडी विशेष प्रशिक्षणमा रहेको र मन्त्रालयले चार करोड ३४ लाख रुपैयाँ विनियोजन गरेको मन्त्री श्रेष्ठले बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि मिसन, २०२६, छैटौँ एसियन इन्डो मार्सल आर्ट, २०२४ र पेरिस ओलम्पिक, २०२४ जस्ता बृहत् खेलकुदको तयारीका लागि राष्ट्रिय स्तरमा १० वटा खेलका दुई सयभन्दा बढी खेलाडी विशेष प्रशिक्षणमा छन्,’ उनले भने, ‘खेलाडीको विशेष प्रशिक्षणका लागि मन्त्रालयले चार करोड ३४ लाख विनियोजन गरेको छ ।’ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि दुई करोड ९० लाख विनियोजन गरिएको छ । उनले संघहरूले आयोजना गर्ने १६ भन्दा बढी खेलमा सहयोग गर्नुपर्ने भएकाले बजेट बढी विनियोजन भएको प्रस्ट पारे । 

पुरस्कार जितेलगत्तै खेलाडीको खातामा रकम
खेलाडीले पुरस्कार जित्नेबित्तिकै बैंक खातामा रकम उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री श्रेष्ठले बताए । उनले आर्थिक वर्षमा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीका लागि मन्त्रालयले चार करोड ३५ लाख बजेट विनियोजन गरेको जानकारी दिए । ‘खेलकुद विकास नियमावली, २०७९ अनुसार पुरस्कारको व्यवस्था गरिएअनुसार चार करोड ३५ लाख बजेट विनियोजना गरिएको छ,’ श्रेष्ठले भने, ‘आगामी वर्षदेखि पदक जितेर आउनेबित्तिकै खेलाडीको खातामा पुरस्कार रकम जाने व्यवस्था मिलाइएको छ ।’ सरकारले ओलम्पिक सहभागी, एसियन खेलमा पदक विजेता, दक्षिण एसियाली खेलकुद (साग) पदक विजेता तीन सय ५७ खेलाडीलाई जनही ६ हजार दरले मासिक भत्ता उपलब्ध गराउँदै आएको छ । जसका लागि दुई करोड ३५ लाख व्यवस्था गरिएको छ । 

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्न चार करोड
जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापनाका लागि चार करोड विनियोजन गरेको उनले बताए । ‘जुम्लाको पातारासीमा स्वदेशी तथा विदेशी खेलाडीलाई तालिममा आकर्षित गर्न हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्न चार करोड विनियोजन गरिएको छ,’ उनले भने, ‘दोलखाको शैलुङमा तेक्वान्दो खेलको हाई अल्टिच्युड ट्रेनिङ कभर्डहल निर्माणका लागि दुई करोड विनियोजन भइसकेको छ ।’ पर्यटन विस्तार र विकास गर्न ११ वट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न बजेट विनियोजन गरिएको छ । 

सुझावित समाचार