विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने भएको छ । एसियन फुटबल महासंघ (एएफसी)ले पहिलोपटक अगस्टमा महिलाको च्याम्पियन्स लिग आयोजना गर्दै छ । नेपाली महिला फुटबलले पहिलोपटक एसियाको शीर्षस्तरको लिग खेल्ने अवसर पाएको हो । ‘पहिलोपटक ठूलो अवसर पाउँदा खुसी छौँ । खेल्न उत्साहित पनि छौँ,’ राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा एपिएफकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा भन्छिन् ।
एएफसीले नेपालसहित २२ देशबाट समान एक क्लबलाई प्रतियोगितामा सहभागी गराउने निर्णय लिएको हो । पहिलोपटक एएफसी च्याम्पियन्स लिग हुँदा टिमहरूले दुई चरणमा प्रतिस्पर्धा गर्नुपर्ने नियम रहेको छ । जापान, अस्ट्रेलिया, चीन, दक्षिण कोरिया, उत्तर कोरिया, भियतनाम, फिलिपिन्स र चाइनिज ताइपेका आठ क्लबले सीधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित भारत, म्यानमार, थाइल्यान्ड, भुटानलगायत १४ राष्ट्रले प्रारम्भिक छनोट हुँदै समूह चरणमा स्थान बनाउनेछन् ।
एएफसीका अनुसार अन्तिम चरणमा तीन समूहका समान चार क्लब हुनेछन् । यसरी १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ । प्रारम्भिक छनोटको दुई समूहमा चार क्लब तथा थप दुई समूहमा तीन क्लब हुनेछन् । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक छनोट २५ देखि ३१ अगस्ट २०२४ सम्म हुनेछ । समूहका खेल ६ देखि १२ अक्टोबरसम्म हुनेछ । यस्तै, फाइनल खेल मे २०२५ मा हुने तालिका छ । जोर्डन, मलेसिया, साउदी अरेबिया र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन् । समूह चरणको खेल चीन र भियतनाममा हुनेछ । समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा हुने एएफसीले जनाएको छ ।
एपिएफमा राष्ट्रिय खेलाडीको बाहुल्य
एपिएफमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्य छ । पारिश्रमिकसँगै खेल्न पनि पाउने हुँदा नेपाली खेलाडी विभागीय टोलीहरू (एपिएफसँगै नेपाल पुलिस र त्रिभुवन आर्मी)मा अनुबन्ध हुने गरेका छन् । घरेलु फुटबलमा एपिएफले एकछत्र राज गर्दै आएको छ । राष्ट्रिय टोलीका अधिकांश खेलाडी नै एपिएफमै छन् । एपिएफमा राष्ट्रिय टोलीकी कप्तान एन्जिलासहित युरोपमा खेलिरहेकी स्ट्राइकर सावित्रा भण्डारी, गीता राना, सरू लिम्बू, अनिता केसी, रेनुका नगरकोटे, प्रीति राई, सविता रानामगर, अनिता बस्नेत र हीराकुमारी भुजेललगायत खेलाडी छन् ।
साथै, उमेर समूहमा नेपालको प्रतिनिधित्व गरेका खेलाडीको बाहुल्यता छ । गोलकिपर एन्जिला नेपाली महिला फुटबलका लागि एसियाको शीर्षस्तरको लिग खेल्न पाउनु राम्रो अवसर रहेको बताउँछिन् । ‘क्लबस्तरमा हामीले एएफसीको प्रतियोगितामा अवसर नै पाउँदैनौँ । पहिलो अवसरमै एएफसी च्याम्पियन्स लिग खेल्न पाएका छौँे,’ एन्जिलाले भनिन्, ‘नेपाली महिला फुटबल राम्रो छ भनेर देखाउने सुनौलो अवसर हो ।’
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला लिग च्याम्पियन एपिएफलाई प्रतियोगिताका लागि सिफारिस गरेको हो । यसअघि १० देखि ३० चैतसम्म चितवनमा भएको महिला लिगलाई रोक्दै एन्फाले बीचमै एपिएफलाई विजेता घोषणा गरेको थियो । एन्फामा नेतृत्व परिवर्तनसँगै महिला लिगको बाँकी आधा खेल नै हुन सकेन ।
नेतृत्वमा आएका पंकजविक्रम नेम्वाङले कार्यसमिति बैठकबाट आधा लिग नखेलाउने र सात खेलमा २१ अंक जोडेको एपिएफलाई विजेता घोषणा गर्ने निर्णय गरेका थिए । त्यसयता महिला लिग नै हुन सकेको छैन ।