खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले कर्णालीको सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वनिधारित समयमै हुने बताएका छन् । भौतिक पूर्वाधारको निरीक्षण गर्दै श्रेष्ठले प्रतियोगिता समयमै हुने विश्वास दिलाएका हुन् । उनले सोमबार उद्घाटन र समापन हुने रंगशाला, पौडी पोखरी, नवनिर्मित कभर्डहल र ब्याडमिन्टन हललगायतका संरचनाका निरीक्षण गरेका हुन् ।
‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुन्छ । हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘बजेटको पनि सुनिश्चितता भइसकेको छ । सरोकारवाला जुटेर यो अवसरलाई पर्वको रूपमा मनाउन आग्रह गर्दछु ।’
श्रेष्ठले विशेषगरी आवास प्रमुख चुनौती हुन सक्ने जनाउँदै यसमा योजना बनाएर नै काम गर्नुपर्ने जोड दिएका छन् । उनले भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी तथा प्रदेश खेलकुद परिषद्को सक्रियताप्रति धन्यवाद दिए । यसैगरी, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले पूर्वाधारको अवस्थाबारे विस्तृत जानकारी गराए । उनले रंगशालाको ८० प्रतिशत काम सम्पन्न भइसकेको र असारभित्र सेन्थेटिक ट्र्याकबाहेक सबै काम सकिने बताए ।
प्रतियोगिताका लागि रंगशालालगायत क्रिकेट मैदान, बहुउद्देश्यीय कभर्डहल, भलिबल र बास्केटबल कोर्टको निर्माण भइरहेका छन् । रग्बी, फुटबल मैदान, ह्यान्डबल, स्क्वास कोर्ट, पौडीपोखरी गरी एक दर्जन नयाँ खेलकुद संरचना अहिले निर्माण भइरहेको सञ्ज्यालले जानकारी गराएका छन् । कर्णालीका नौ जिल्लामा ३० खेल खेलाउन तयार रहे पनि ६ खेल आयोजना गर्न नसक्ने कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
लनटेनिस, सुटिङ, जिम्न्यास्टिक, सफ्ट टेनिस, ट्रायथलन र गल्फका पूर्वाधार कर्णालीमा नभएकाले यी खेल हुन नसक्ने परिषद्ले जानकारी गराएको हो । यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले प्रतियोतिगालाई कर्णालीमा मात्र नभएर देशको पनि ठूलो इभेन्टका रूपमा लिन आग्रह गरेका छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङले विगतको कमीकमजोरीलाई नदोहो¥याउनेमा सचेत रहेको बताए ।