१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले गत पुस मसान्तसम्म विद्युत् उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। तर, ६ महिना बितिसक्दा पनि पूर्वघोषित काम कार्यान्वयनमा आएन।
विद्युत् उत्पादन नहुनुमा आन्तरिक र बाह्य थुप्रै कारण छन्। मुख्य कारण सुरुङबाट पानी चुहियो। पावरहाउस नजिकैदेखि बोर्डरल्यान्डसम्मको एक किलोमिटर क्षेत्रमा सुरुङ चिराचिरा परेकाले पानी लिकेज भएको हो। बाँधस्थलबाट पावरहाउससम्म जम्मा सात किलोमिटर सुरुङ छ।
आयोजनाले दुईपटक सुरुङमा पानी परीक्षण गरिसकेको छ। बोर्डरल्यान्ड क्षेत्रमा पानी लिक भएर भूक्षय हुने डरले थप परीक्षण बन्द गरिएको छ। चिनियाँ निर्माण कम्पनी ग्वाङ्सी हाइड्रो इलेक्ट्रक ब्युरोले लिक भएका ठाउँमा पुनः ढलान गर्दै छ। तर, जगबाटै चिरा परेकाले सुरुङबाट पुनः पानी लिक हुने सम्भावना छ।
‘पानी लिकेज भएको ठाउँ ढलान हुँदै छ। एक डेढ महिनामा सकिन्छ,’ आयोजनाका प्रमुख कार्यकारी निर्देशक रामगोपाल सिवाकोटीले भने। आयोजना निर्माणको काम छिट्टै सकिन्छ। तर, विद्युत् जम्मा गर्ने सबस्टेसन कमजोर भूगोलमा बनेकाले संशय पैदा भएको सिवाकोटीले प्रस्ट्याए। ‘सबस्टेसनको जोखिम हेरेर राज्यन्त्रले छानबिन गर्ने र उचित निकास दिने काम गर्ला,’ उनले थपे।
सन् २०१८ मा निर्माण सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तोकेको समयभन्दा ६ वर्ष ढिला पनि उत्पादन सुरु गर्न नसक्नुले विभिन्न प्रश्न उब्जिएका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमानसिंह घिसिङ मध्यभोटेकोशी र सबस्टेसन क्षेत्रको अवलोकन र निरीक्षणमा तीनपटक पुगिसकेका छन्। तर, प्रगति हात लागेको छैन।
आयोजनाको अर्को समस्या प्रसारणलाइनको हो। पावरहाउस स्टेसन जम्मुबाट बाह्रबिसेको वडा नम्बर ३ र ४ सम्म पुग्ने प्रसारणलाइन आजसम्म पनि टाँग्न सकेको छैन। दुवै वडाका बासिन्दाले पटकपटक आन्दोलन गरेर वडालाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग अगाडि सारेका छन्।
उनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले नगर अस्पताल बनाइदिनुपर्ने मागसमेत राखेका छन्। विभिन्न माग राखेर आन्दोलन गरिरहेका दुई सय ५० स्थानीयले प्रसारणलाइन रहने जग्गाको मुआब्जा लिन अस्वीकार गरेका छन्।