नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानी भित्र्याउन राजदूत रोब फेनसँग आग्रह गरेका छन् । शुक्रबार भएको भेटमा ढकालले दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवद्र्धन गर्न आग्रह गरेका हुन् । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले थप योगदान दिन सक्ने ढकालले बताए ।
निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुर्याइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराएका हुन् । साथै, उनले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको र लगानी प्रक्रियालाई सहज बनाउन आठवटा लगानी ऐन परिमार्जन गरेको राजदूत फेनलाई जानकारी गराए ।
भेटवार्ताका क्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले व्यापार विस्तारबारे आफ्नो धारणा राखेका थिए । भेटका क्रममा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा खुसी व्यक्त गरेका थिए । विशेष गरी उनले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।