हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको पुष्टि भएको छ । एक पूर्ण बफादार नेताको निधन इरानको पुरातनपन्थी नेतृत्वका लागि गम्भीर धक्का हुनेछ । दुर्घटनास्थलमा खोज एवं उद्धारकर्ता टोली हेलिकोप्टरको भग्नावेशेष रहेको क्षेत्रमा पुग्दा इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले मुलुकले रइसीका लागि ‘प्रार्थना गर्नुपर्छ’ भनेका थिए । इरानको घरेलु राजनीति र विदेश नीतिका एक विशेषज्ञका नाताले रइसीको हेलिकोप्टर दुर्घटना सम्भावित मानवीय त्रासदीमा मात्रै सीमित छैन भन्नेमा म विश्वास गर्छु । यसले घरेलु अराजकता र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय टकरावले ग्रसित इरानी राज्यमा ठूलो प्रभाव पार्नेछ ।
को हुन् इब्राहिम रइसी ? : सन् १९७९ को इरानी क्रान्तिपछि रइसीले इस्लामिक गणतन्त्रका एक समर्पित सदस्य र सर्वोच्च नेता खामेनीको एक प्रमुख समर्थकका रूपमा काम गरेका थिए । सन् २०२१ मा राष्ट्रपति पद ग्रहण गर्नुअघि उनले खामेनीको अख्तियारीमा धेरै न्यायपालिकाका पद सम्हालेका थिए । जसअन्तर्गत सन् १९८८ मा इरान–इराक युद्धको अन्त्यमा हजारौँ राजनीतिक बन्दीलाई मृत्युदण्डको सजाय दिने समिति पनि समावेश छ ।
ठूलो संख्यामा मृत्युदण्ड दिएका कारण उनलाई ‘तेहरानका कसाई’ भनेर चिनिन्थ्यो । पछि उनलाई अमेरिकाले प्रतिबन्ध लगायो, संयुक्त राष्ट्र संघले उनको निन्दा गर्यो र अन्तर्राष्ट्रिय मानवअधिकार समूहले उनको आलोचना गर्यो । सन् २००६ देखि रइसीले विज्ञको सभामा काम गरे, जहाँ उनले सर्वोच्च नेता नियुक्ति र निरीक्षणको जिम्मेवारी लिएका थिए । करिस्मा र वक्तृत्वकलाको कमी भए पनि ६३ वर्षीय रइसीलाई सर्वोच्च नेताका रूपमा ८५ वर्षीय खामेनीको उत्तराधिकारी बनाइने विश्वास गरिएको थियो ।
विरोधाभाषी घरेलु इतिहास : रइसीको राष्ट्रपतित्वले इरानभित्र वैधता संकट र सामाजिक अराजकता निम्तिएको थियो । गार्डियन काउन्सिलले धेरै उम्मेदवार अयोग्य बनाएको अवस्थामा ५० प्रतिशतभन्दा कमको मतदानपछि उनले विवादास्पद रूपमा सन् २०२१ को चुनाव जितेका थिए ।
आफ्ना पुरातनपन्थी समर्थकलाई खुसी पार्न रइसीको सरकारले नैतिकसम्बन्धी प्रहरीलाई पुनर्जीवित गरेको थियो र समाजमा धार्मिक प्रतिबन्धलाई पनि पुनस्र्थापित गरेको थियो । नतिजा सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि महिला, जीवन, स्वतन्त्रता आन्दोलन उत्प्रेरित भयो । यी विरोध प्रदर्शन इरानको झन्डै ५० वर्षको इतिहासमा सबैभन्दा ठूलो र लामो भयो, जसले अभूतपूर्व राज्य दमन निम्त्यायो । जसमा पाँच सयभन्दा बढी प्रदर्शनकारी मारिए ।
यसबाहेक धेरै घाइते, बेपत्ता भए वा हिरासतमा थुनिए । अशान्तिको समयमा रइसीले प्रतिबन्ध र दमनलाई तीव्र पार्दै सर्वोच्च नेता र पुरातनपन्थी अभिजात वर्गप्रति आफ्नो बफादारीलाई पुनः पुष्टि गरेका थिए । रइसीको नेतृत्वमा इरानको अर्थतन्त्र सरकारी कुप्रबन्धन, भ्रष्टाचार, र घरेलु दमन एवं विदेशी उत्तेजनाको प्रतिक्रियामा अमेरिकी प्रतिबन्धको तीव्रताका कारण खराब भयो ।
मेलमिलापको सट्टा टकराव : रइसीको नेतृत्वमा इरानको घरेलु उथलपुथलले यसको क्षेत्रीय र अन्तर्राष्ट्रिय भूमिकामा परिवर्तन ल्यायो । सर्वोच्च नेता खामेनीले विदेश नीतिमा आफ्नो प्रभुत्व राख्ने भए पनि रइसीले प्रतिद्वन्द्वी, विशेषतः अमेरिका र इजरायलप्रति टकरावको अडान कायम राख्ने नीतिलाई निरन्तरता दिए ।
पश्चिमसँग मेलमिलापका सबै सम्भावनाबाट तेहरानले दूरी बनायो । चर्को अमेरिकी प्रतिबन्धबीच रइसीको नेतृत्वमा इरान आणविक सम्झौतालाई पुनर्जीवित गर्न हिचकिचायो । बरु इरानले युरेनियम संवद्र्धनलाई बढायो, अन्तर्राष्ट्रिय निरीक्षकमाथि बाधा पु¥यायो र इरान आणविक थ्रेसहोल्ड राज्य बन्ने नजिक पुग्यो । रइसीले आफ्ना पूर्ववर्ती हसन रुहानीको ‘पूर्वतर्फ हेर’को नीतिलाई समर्थन गर्दै चीनसँगको घनिष्ठ सम्बन्धलाई प्राथमिकता दिए ।
जवाफमा बेइजिङले इरानी तेल आयात गरेर आर्थिक सहयोग प्रदान गर्यो र मार्च २०२३ मा इरान र साउदी अरेबियाबीच कूटनीतिक सम्झौतामा सहयोग पुर्यायो । ७ अक्टोबर २०२३ मा गाजा युद्ध सुरु भएयता खामेनी र रइसीको नेतृत्वमा इरानले आफ्नो परम्परागत श्रेष्ठताका कारण प्रत्यक्ष टकरावबाट बच्न इजरायल र अमेरिकाको सामना गर्न क्षेत्रीय छद्म शक्तिलाई सशक्त बनायो । यो सन्तुलन केही समय बिग्रिएको थियो, अर्थात् जब इरानले अप्रिलमा इजरायललाई सीधा आक्रमण ग¥यो । विदेश नीतिका लागि प्रत्यक्ष रूपमा जिम्मेवार नभए पनि रइसीले स्थापित अन्तर्राष्ट्रिय व्यवस्थाबाट आफूलाई टाढा राख्दै पश्चिमका शत्रु देशविरुद्ध लाग्ने मुलुकसँग गठबन्धन बनाउने इरानको प्रयासलाई दृढतापूर्वक समर्थन गरे ।
हेलिकोप्टर दुर्घटनाअघि रइसी र उनका सहकर्मी छिमेकी अजरबैजानमा बाँध उद्घाटन समारोहबाट फर्किरहेका थिए । यो कार्यक्रम सम्भवतः अजरबैजानसँग सम्बन्ध सुधार गर्ने उद्देश्यले गरिएको थियो । स्मरण रहोस्, नागोर्नो–काराबाख द्वन्द्वमा इरानको अडान अस्पष्ट थियो ।
राष्ट्रपति परिवर्तन हुँदाको अर्थ : सर्वोच्च नेता खामेनीले रइसीलाई लामो समयदेखि बफादार, भित्रिया र सम्भावित उत्तराधिकारीका रूपमा हेरेका थिए । इरानको संविधानअनुसार राष्ट्रपतिको मृत्यु भएमा पहिलो उपराष्ट्रपतिले अन्तरिम राष्ट्रपतिको पदभार ग्रहण गर्छन । यो परिदृश्यमा रइसीजस्तै राजनीतिज्ञ मोहम्मद मोख्बेरले कदम चाल्नेछन् । मस्कोसँग हतियार सम्झौताका लागि इरानको वार्तामा मोख्बरले महŒवपूर्ण भूमिका खेलेका छन् ।
इरानले ५० दिनभित्र राष्ट्रपतिको चुनाव गराउनुपर्ने हुन्छ र सर्वोच्च नेताले भावी राष्ट्रपति र सम्भावित उत्तराधिकारीका रूपमा कसलाई अनुमोदन गर्ने अनिश्चित छ । तेहरानका पुरातनपन्थी आन्तरिक र बाह्य दबाबबीच एकजुट हुने सम्भावना छ, जसले सम्भवतः राज्य दमन र आन्तरिक रूपमा चुनावी हेरफेर निम्त्याउनेछ । क्षेत्रीय र अन्तर्राष्ट्रिय रूपमा इरानले उदीयमान सहयोगीसँगको सम्बन्धलाई बलियो बनाउन र परम्परागत विरोधीसँग मापन गरिएको टकरावमा संलग्न हुन सक्छ ।
(लोब फ्लोरिडा इन्टरनेसनल विश्वविद्यालयका राजनीति एवं अन्तर्राष्ट्रिय सम्बन्धका सहप्राध्यापक हुन्) द कन्भर्सेसनबाट