इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको छ।
आइतबारदेखि सम्पर्कविहीन भएको इरानी राष्ट्रपति इब्राहिम सवार हेलिकोप्टर पूरै जलेको अवस्थामा सोमबार बिहान फेला परेको बिबिसीले जनाएको छ।
इरानी समाचार संस्था तेहरान टाइम्सका अनुसार हेलिकप्टरको भग्नावशेष मात्र भेटिएपछि इरानी राष्ट्रपति, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानलगायत सबैको निधन भएको बताइएको छ। इरानी राष्ट्रपति चढेको हेलिकप्टर हिजो कुहिरोले ढाकेको पहाडी क्षेत्रमा खसेको थियो।
दुर्घटनालगत्तै उद्धार टोली परिचालन गरिएको थियो। तर खराब मौसमका कारण खोजी तथा उद्धारमा कठिनाइ भएको थियो। अहिले पनि दुर्घटनास्थल पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा मौसम खराब छ। दुर्घटना वारजाघन सहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको तेहरान टाइम्सले जनाएको छ।
राष्ट्रपनि रैसीले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर हिजो दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन गरेका थिए।