प्रहरी कार्यालयहरूमा आकर्षक लाइब्रेरीहरू बन्न थालेका छन्। प्रहरी मात्र नभई सेवाग्राहीलाई समेत सुविधा दिने गरी लाइब्रेरी बनिरहेका छन्।
पछिल्लोपटक जिल्ला प्रहरी कार्यालय, उदयपुरको कार्यालयपरिसरमा लाइब्रेरी क्याफे सञ्चालनमा आएको छ। सहरी क्षेत्रमा लोकप्रिय बनेको लाइब्रेरी क्याफेको शैली पछ्याउँदै प्रहरी कार्यालयमै यस्तो चिटिक्कको क्याफे सञ्चालनमा आएको हो। गत २८ वैशाखमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सो लाइब्रेरी क्याफेको उद्घाटन गरेका हुन्।
पठन संस्कृति बढाउने उद्देश्यले लाइब्रेरी स्थापना गरिएको उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी गराए। ‘त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा इ–लाइब्रेरीसहित यस्तो क्याफे सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘इ–लाइब्रेरीबाट करिब दुई करोड किताब पढ्न सक्ने सुविधा छ ।’ यस्तो लाइब्रेरी क्याफेले नागरिक र प्रहरीबीचको सम्बन्ध पनि सुमधुर बनाउने प्रहरी अधिकारी बताउँछन्।
यसअघि एसपी थापाले जिल्ला प्रहरी कार्यालय कास्की र गोरखामा कार्यरत रहँदा पनि लाइब्रेरी स्थापना गरेका थिए। पछिल्लो समय अन्य प्रहरी कार्यालयमा पनि लाइब्रेरी स्थापना हुन थालेको छ।