नारायणी नदीमा सिग्नेचर पुल बन्ने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

महेन्द्र (पूर्व–पश्चिम) राजमार्गअन्तर्गत नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर पुल बन्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका जोड्ने नारायणी नदीमाथि बन्ने सिग्नेचर पुलको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका हुन् ।

पुलको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणा बढी विकास भएको बताए । उनले भने, ‘चालू आर्थिक वर्षमा मात्रै एक सय ४९ भन्दा बढी पुलको निर्माण भएको छ । सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायत मानवीय विकासका क्षेत्रमा समेत नेपालले उत्साहपूर्ण  प्रगति गरिरहेको छ ।’  

कार्यक्रममा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिंगनेचर पुल आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको बताउँदै यसलाई विशेष प्राथमिकतामा राखी सम्पन्न गर्ने बताए । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरलाई व्यवस्थित र समृद्ध सहर बनाउन पुलले महत्वपूर्ण भूमिका निर्माण गर्ने बताइन् । यो सिग्नेचर ब्रिजको लम्बाइ चार सय २० मिटर लामो हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार पुलमा जम्मा चारवटा पिल्लर रहनेछन् । पुलको मुनिबाट ठूला पानीजहाज आवतजावत गर्न मिल्ने गरी बनाइनेछ । पुलको बीचमा दुई पिल्लरबीचको भाग दुई सय १० मिटर फराकिलो छ । पुल निर्माणका लागि तुँदी कन्स्ट्रक्सनसँग ०८० जेठ १९ गते नै सम्झौता भएको थियो । कम्पनीले चार वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । एक अर्ब ६८ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको हो । 

सुझावित समाचार