एम्बाप्पेको बिदाइ खेलमा पिएसजीको हार

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

फ्रान्सका स्टार खेलाडी केलियन एम्बाप्पेले बिदाई खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । कप्तान एम्बाप्पेले गोल गरे पनि पिएसजी घरेलु मैदानमै टोउलोउसेविरुद्ध ३–१ ले पराजित भयो । यसअघि नै च्याम्पियन भएको पिएसजीले पार्क प्रिन्सेस मैदानमा ट्रफी उचालेर खुसियाली मनाएको हो । 

पिएसजीले ३२ खेलबाट ७० अंक जोडेर शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको हो । दोस्रो स्थानमा रहेको मोनाकोले ३३ खेलबाट ६४ अंक जोडेको छ । आइतबार बिहान एम्बाप्पेले खेलको आठौँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसपछि तीन गोल व्यहोर्न पुग्यो । 

यसअघि नै एम्बाप्पेले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका थिए । २५ वर्षीय खेलाडी स्पेनिस महारथी रियाल मड्रिड पुग्ने चर्चा छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उनी पाँच वर्षको सम्झौता नजिक पुगेका छन् ।

पिएसजीले पछिल्लो ११ वर्षमा १० पटक फ्रेन्च लिगको उपाधि जितिसकेको छ । यससिजन भने क्लबको ह्याट्री उपाधि रह्यो । स्पेनिस प्रशिक्षक लुइस इन्रिक्वेको प्रशिक्षणमा पिएसजी यसपटक पनि च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन सकेन । अघिल्लो साता बोरुसिया डर्टमन्डसँग पराजित भएपछि सेमिफाइनलबाट बाहिरिएको थियो । पिएसजीले बाँकी दुई खेलमा निस र मेट्जको सामना गर्नेछ । त्यसपछि फ्रेन्च कपमा लिओनसँग प्रतिस्पर्धा गर्ने तालिका छ । 

२०१७ मा मोनाकोबाट पिएसजी 
सन् २०१७ मा मोनाकोेबाट १६५.७ मिलियन पाउन्डमा एम्बाप्पे पिएसजी अनुबन्ध भएका थिए । एम्बाप्पेले पिएसजीबाट कीर्तिमानी २५६ गोल गरेका छन् । विश्वकप विजेता खेलाडीले क्लबमा रहँदा तीन सय सात खेल खेलेका छन् ।  सबैखाले प्रतियोगितामा ४७ खेल खेल्दै ४४ गोल गरेका थिए भने १० असिष्ट एम्बाप्पेको नाममा रहेको छ । 

सुझावित समाचार