संखुवासभाको खाँदबारी नगरपालिका–१० का ६१ जना कृषकलाई हातेट्याक्टर (मिनिटिलर) र प्लास्टिक टनेल वितरण गरिएको छ । आइतबार एक कार्यक्रमबीच १० नम्बर वडाभित्रका कृषकलाई वडाले हातेट्याक्टर र प्लास्टिक टनेल वितरण गरेको हो । चालू आर्थिक वर्ष ०८०/८१ को वडास्तरीय योजनामार्फत कृषकलाई ती सामग्री वितरण गरिएको वडाध्यक्ष बेदबहादुर चौहानले बताए । उनले वडाभित्रका कृषकको माग प्रस्ताव आह्वान गरी वस्तुस्थितिका आधारमा वडाले कृषक छनोट गरेको बताए ।
वडावासीलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रविधिमैत्री हातेट्याक्टर र टनेल वितरण गरिएको वडाध्यक्ष चौहानको भनाइ छ । ‘वडाको अनुदान प्रदान गरिएका कृषकले घर–घर र करेसाबारीमा नै पुगेर नियमित अनुगमन गर्छौँ । वडाको अनुदानको दुरुपयोग नहोस् भन्ने हाम्रो अनुरोध छ,’ वडाध्यक्ष चौहानले भने । चालू आवमा वडाबाट विनियोजित चार लाख ५० हजार र कृषक लागत सहभागिता चार लाख गरी कुल आठ लाख ५० हजार बजेटबाट सामान खरिद गरी वितरण गरिएको वडासचिव डिल्ली सुवेदीले बताए । उनले हातेट्याक्टरमा ५० प्रतिशत र प्लास्टिक टनेलमा ६० प्रतिशत अनुदान प्रदान गरिएको जानकारी दिए । हातेट्याक्टरतर्फ ११ जना कृषक र प्लास्टिक टनेलतर्फ ५० जना कृषक छनोटमा परेको वडासचिव सुवेदीको भनाइ छ ।
१० नम्बर वडाले कृषकलक्षित कार्यक्रम गरेको भन्दै खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्माणकुमार कार्कीले खुसी व्यक्त गरे । उनले अन्य वडाहरूले पनि यस्तो राम्रो कार्यक्रमको सिकाइ गर्न अनुरोध गर्दै सामानको दुरुपयोग नगरी लाभ लिन आग्रह गरे । टनेलमा बाह्रै महिना तरकारी खेती गर्न सकिने भएकाले गाउँ–गाउँमा प्लास्टिक टनेलको माग बढेको छ । त्यसैगरी, पछिल्लो समय गोरु पाल्नुभन्दा हातेट्याक्टरतर्फ कृषकहरूको आकर्षण बढेको पाइएको छ । धेरैजसो कृषकहरूले मलका लागि गाई पाल्ने र जोत्नका लागि हातेट्याक्टर चलाउने गरेको कृषकहरूको भनाइ छ ।