नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गरएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालको नेतृत्वमा निवर्तमान तथा पूर्वअध्यक्ष र वर्तमान पदाधिकारीको टोलीले भक्तपुरको बालकोटस्थित निवासमा ओलीसँग भेटवार्ता गरी शिथिल बनेको अर्थतन्त्रलाई गति दिन आग्रह गरेको हो ।
चेम्बर अध्यक्ष अग्रवालले अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा ओलीको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्रमा आएको मन्दीले निजी क्षेत्रको सम्पत्तिमा ५० प्रतिशतसम्मको गिरावट आएको बताए । शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन आर्थिक र वित्तीय नीतिमा सहजीकरण गर्नुपर्ने उनको सुझाव थियो । उनले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान एवं निजी क्षेत्रको मनोबल उकास्नुपर्ने वेला आएको धारणा राखे ।
‘विगतमा लिएका संकुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्ततालगायत कारणले आर्थिक गतिविधि खुम्चिएको छ,’ अध्यक्ष अग्रवालले भने, ‘सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई चलायमान गराउने गरी आउन आवश्यक छ ।’ आयकर ऐन, २०५८ का अधिकांश प्रावधान स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सारलगायतमा पछिल्लो समय भूतप्रभावी दायित्वहरू देखापरेको भन्दै अन्त्य गर्न चेम्बर टोलीले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको छ । सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएको औँल्याउँदै चेम्बर टोलीले सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान गर्न पहल गर्न पनि ओलीलाई आग्रह गर्यो ।
एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई सर्वोपरि ठानेर सरकारले नीति तथा कार्यक्रम ल्याउने बताए । निजी क्षेत्रको समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने उनले आश्वासन पनि दिए ।