बास्केटबल विजेता टोली सम्मानित

शुक्रबार, २८ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबल उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । चीनको युनानमा १२ देखि १८ वैशाखसम्म भएको प्रतियोगितामा सहभागी चार खेलाडी र एक प्रशिक्षक सम्मानित भएका हुन् । 

संघका अध्यक्ष भीमसिंह गुरुङले विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङलाई जनही ३० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन् । प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो । संघका महासचिव नरेन्द्र थापाका अनुसार नेपाली बास्केटबल इतिहासमै कुनै पनि टोलीले स्वर्ण जितेको यो पहिलो अवसर हो । प्रतियोगितामा नेपालसहित सात राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका चार गरी पाँच टिम समूह ‘एफ’मा थिए । 

समूह चरणका सबै खेल जितेको नेपाल विजेता हुँदै प्रिक्वार्टरफाइनलमा पुगेको थियो । नेपालले अन्तिम १६ मा भियतनामलाई हराएको थियो । क्वार्टरफाइनलमा साबिक विजेता होङही र सेमिफाइनलमा थाइल्यान्डलाई हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।

सुझावित समाचार