प्रिमियर लिगमा युनाइटेडको नसोचेको नतिजा

बिहिबार, २७ बैशाख, २०८१
डिजिटल संस्करण

प्रशिक्षक एरिक टेन हाङले प्रशिक्षण सम्हालेयता म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियरसिप लिगमा एकपछि अर्को खराब नतिजा व्यहोरेको छ । अहिले युनाइटेड अर्को सिजनमा युरोपियन लिगमा छनोट हुने सम्भावना लगभग समाप्त भएको छ । युनाइटेड लिगको आठौँ स्थानमा सीमित छ ।युनाइटेडको इपिएल इतिहासमा अहिलेसम्म आठौँ स्थानमा लिग सकाएको रेकर्ड छैन । खराब प्रदर्शन गरे पनि युनाइटेडले कम्तीमा सातौँ स्थानमा रही लिग समाप्त गरेको रेकर्ड छ । तर, यसपटक युनाइटेडले सातौँ स्थान रक्षा गर्ने सम्भावना पनि पातलो छ । 

यद्यपि, अर्को युनाइटेडले एफए कपमा स्थान बनाउन सक्छ । तर, यसका लागि युनाइटेड एफए कपको फाइनलमा छिमेकी क्लब म्यानचेस्टर सिटीलाई हराउनुपर्छ । प्रशिक्षक एरिक टेनले सोमबार रातिको नतिजा नसोचेको भएको जनाएका छन् । ‘मैले यस्तो हार हुन्छ भनी कल्पना गरेको थिइनँ, यसले हाम्रो शक्तिमाथि प्रश्नचिह्न खडा गरेको छ,’ उनले भने । गत सोमबार क्रिस्टल प्यालेसविरुद्ध युनाइटेडका नियमित १० खेलाडी थिएनन् । ती सबै खेलाडी चोटग्रस्त छन् ।  

कति खराब नतिजा 
चालू सिजनमा युनाइटेडले सोचेजस्तो भइरहेको छैन । एकपछि अर्को खराब रेकर्ड राखेको युनाइटेडले एकै सिजनमा विपक्षीलाई धेरै नतिजा सुम्पियो । यसपटक युनाइटेड १३ खेलमा पराजित भयो । गत वर्षदेखिको समीक्षा गर्दा युनाइटेड तीनपटक चार गोल वा सोभन्दा बढी अन्तरले पराजित भएको छ । 

चालू सिजनमा नटिघम फरेस्ट सर्वाधिक पाँचपटक चारभन्दामाथि गोलअन्तरले पराजित भएको छ । सेल्हर्ट पार्कमा अहिलेसम्म युनाइटेडको यो खराब हार हो । युनाइटेडले समग्र यस सिजनमा ८१ गोल व्यहोरेको छ । सन् १९७६–६७ को सिजनमा युनाइटेडले ८१ गोल व्यहोरेको थियो । त्यसपछि फिनिसिङ सबैभन्दा कमजोर प्रदर्शन गरेको सिजन नै यसपटक हो । 

११ खेलमा १० अंक मात्र
दुई वर्षअघि युनाइटेडले नेदरल्यान्ड्सका नागरिक टेन हाङलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको थियो । तत्काल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगको सम्बन्ध राम्रो नहुँदा उनले चर्को आलोचनाको साना गरेका थिए । लगातार खराब नतिजा निकालेका टेन हाङको सम्झौता अझै एक वर्ष बाँकी छ । गएका ११ खेलमा युनाइटेडले केवल १० अंक मात्र बटुल्यो । फुलहाम, ब्रेनफोर्ड, चेल्सी, लिभरपुल तथा ब्रुर्नलीसँग अन्तिम मिनेटमा युनाइेटडले गोल सामना गरेको थियो । युनाइटेडका सहमालिक सरजिम राटफिकले प्रशिक्षकका बारेमा केही बोलेका छैनन् ।  

लिभरपुलका पूर्वडिफेन्डर जेमी काराघरले टेन हाङ अहिलेसम्मकै युनाइटेडका खराब प्रशिक्षक भएको प्रतिक्रिया दिएका छन् । उनले स्काई स्पोर्टस्सँग कुराकानी गर्दै भने, ‘मेरो विश्लेषणमा यो जतिको खराब प्रशिक्षक युनाइटेडमा आएकै छैनन्, प्रिमियर लिगको नतिजा हेर्दा इतिहास बोकेको क्लबले राम्रा प्रशिक्षक ल्याउनुपर्छ ।’ यसैगरी, युनाइटेडका पूर्वखेलाडी एस्ली योङले यसै किसिमको नतिजा निकाल्दै जाँदा युनाइटेड युरोपा लिगबाट पनि बाहिरिने बताए । स्वयं प्रशिक्षक टेन हाङले समेत खेलाडीले औसत प्रदर्शन गर्न नसकेको स्विकारेका छन् । 

सुझावित समाचार