३५ बुँदे घोषणापत्र जारी गर्दै सकियो मेक इन नेपाल सम्मेलन

बुधबार, २६ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाली वस्तुको उत्पादन, खपत तथा निर्यात वृद्धिका लागि ३५ बुँदे घोषणापत्र जारी गर्दै ‘मेक इन नेपाल : स्वदेशी सम्मेलन २०२४’ सम्पन्न भएको छ । ‘सम्मेलनको तेस्रो संस्करणमा भएको छलफलमा सबल र आत्मनिर्भर अर्थतन्त्रतर्फ लम्कन ३५ बुँदे घोषणापत्र जारी गरिएको परिसंघले जनाएको छ । मंगलबार आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थमन्त्री वर्षमान पुनलाई घोषणापत्र हस्तान्तरण गरेका छन् । 

घोषणापत्र ग्रहण गर्दै अर्थमन्त्री पुनले स्वदेशी सम्मेलनबाट आएका सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निजी क्षेत्रका लागि लचिलो नीति अपनाउने गरी अगाडि बढ्न प्रधानमन्त्रीले निर्देशन दिएको उल्लेख गर्दै अर्थमन्त्री पुनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट ल्याउने बताए । 

यस बृहत् अभियानको कार्यान्वयनबाट वार्षिक एक हजार नयाँ उद्योग दर्ता, कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा सन् २०३० सम्ममा २५ प्रतिशत पुर्याउने, औद्योगिक क्षेत्रबाट वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षभित्र वार्षिक निर्यात ४.६ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखिएको छ । 

परिसंघका अध्यक्ष र अग्रवालले सन् २०२१ को अन्त्यतिरबाट शुभारम्भ भएको मेक इन नेपाल : स्वदेशी अभियानले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस काम गर्न नेपाल सरकार, निजी क्षेत्र एवं सरोकारवालालाई झकझक्याइरहेको बताए । उनले भने, ‘तेस्रो संस्करणको अहिलेको सम्मेलनका घोषणापत्रलाई सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने विश्वास छ ।’
 

सुझावित समाचार