अल्ट्रा म्याराथनमा धीर र प्रिया प्रथम

सोमबार, ३ बैशाख, २०८१
डिजिटल संस्करण

जुम्ला–रारा अल्ट्रा म्याराथन उपाधि जुम्लाका धीर बुढाले पुरुषतर्फ र खोटाङकी प्रिया राईले महिला विधामा जितेका छन् । धीरले खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दूरी चार घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेका थिए । 

प्रियाले उपाधि हात पार्न ६ घण्टा सात मिनेट ५७ सेकेन्ड लगाइन् । पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर दोस्रो र शेरबहादुर बुढा तेस्रो भएका छन् । दलबहादुरले चौथो संस्करणको उपाधि जितेका थिए । उनी यसपटक दोस्रो भए । महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावलले ६ घण्टा १५ मिनेट नौ सेकेन्डका साथ दोस्रो स्थान रक्षा गरिन् । 

म्याराथनमा चार विदेशी खेलाडीसहित ५४ जना दौडिएका थिए । कर्णाली स्पार्टस् क्लब जुम्लाको आयोजना भएको जुम्ला–रारा अल्ट्रा म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालिकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक र जुम्लाका धावकले भाग लिएका थिए ।

म्याराथनमा प्रथम हुनेलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइएको छ । म्याराथनमा सहभागी हुन सार्क राष्ट्रका धावकलाई १४ हजार पाँच सय र अन्य राष्ट्रका धावकलाई १६ हजार रुपैयाँ दर्ता शुल्क राखिएको थियो । 

सुझावित समाचार