नेपाल हङकङसँग ७३ रनले पराजित

शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

हङकङले ब्याटर बाबर हायतको सतक मद्दतमा पहिलो टी-२० खेलमा नेपाललाई ७३ रनले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय १३ रन बनाएकाे थियाे। प्रत्युत्तरमा नेपाल १६.४ ओभरमा अल आउट हुँदा १३९ रनमा समेटियाे।

नेपालको इनिङमा ओपनर विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। कप्तान रोहितकुमार पौडेलले ३० र आरिफ शेखले ३८ रन जोड्दा अन्य खेलाडीले दोस्रो अंकमा रन बनाउन सकेनन्।

यसअघि हङकङको इनिङ्समा बाबरले शतकीय इनिङ्स खेले। उनले ४९ बलमा तीन चौका र १३ छक्कासहित ११० रन बनाएका हुन्। उनले डेब्यु गरिरहेका आकाश चन्दलाई छक्का प्रहार गर्दै शतक बनाए। आकाशले नै कप्तान रोहितबाट बाबरलाई अन्तिम बलमा क्याचआउट गराएका थिए । 

३२ वर्षीय दायाँ हाते ब्याटरले दोस्रो शतक बनाएका हुन्। ५०औँ खेल खेलेका बाबरले यसअघि सन् २०१६ मा ओमानविरुद्ध एक सय २२ रन बनाएका थिए।

यसैगरी, अन्सुराथले ३२ बलमा ३९ रन बनाए। उनले दुई चौका र आठ छक्का प्रहार गरेका हुन्। यसअघि अोपनर मार्टिन कोइटजीले २१ बलमा पाँच चौका र एक छक्कासहित ३१ रन बनाएका हुन्। ऐजित खानले ११ बलमा २१ रन बनाएर अविजित रहे।

नेपालका आकाश चन्दले तीन विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चिए। यही खेलबाट युवा बलर आकाश चन्दले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन्। आरिफ शेख, प्रतिश जिसी र रसिद खानले समान एक विकेट हात पारे। गुल्सन झा, विवेक यादव र सागर ढकाल विकेटविहीन भए।

नेपालले आइसिसी टी–२० विश्वकपको तयारीका लागि हङकङसँग खेल खेलेको हो।

सुझावित समाचार