युट्युबरका लागि काउन्सिलको अभिमुखीकरण

मर्यादित सामग्री सम्प्रेषण गरेर स्थापित हुन महासंघका अध्यक्ष पोख्रेलको सुझाव

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनका सन्दर्भमा दोस्रो चरणको आचारसंहिता अभिमुखीकरण कार्यक्रम गरेको छ । मंगलबार काउन्सिल सभाहलमा सञ्चालनमा रहेका युट्युब च्यालनका सञ्चालक–सम्पादकलाई बोलाएर आचारसंहिता, निर्देशिका तथा कानुनी प्रावधानबारे कक्षा दिएको हो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले युट्युबमार्फत मर्यादित सामग्री सम्प्रेषण गरेर समाजमा स्थापित हुन सुझाव दिए ।  पत्रकार आचारसंहिता र त्यसका प्रावधानबारे प्रस्तुति राख्दै उनले जुनसुकै समाजले नयाँ कुरा सहजै स्वीकार नगर्ने हुँदा निरन्तर मर्यादित सामग्री दिएर पनि समाजको स्वीकार्य हुनुपर्ने बताए । युट्युबमा समाचारजन्य र सार्वजनिक सरोकारका विषयवस्तु राख्ने हो भने पत्रकार आचारसंहिता र प्रचलित ऐन–कानुनको परिधिमा बाँधिनैपर्ने उनको  भनाइ थियो । 

कार्यक्रममा युट्युबको व्यवस्थापनमा काउन्सिल विषयक कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलले लामो समयदेखि युट्युब र यसबाट सम्प्रेषित सामग्रीका सम्बन्धमा गरिरहेको गृहकार्यबारे जानकारी दिए । यस्तै, विभिन्न सञ्चार निर्देशिका र तिनमा रहेका प्रावधानबारे कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलकी पूर्वसदस्य शुभेच्छाविन्दु तुलाधरले युट्युबमार्फत गरिने पत्रकारिता आचारसंहिता र निर्देशिकाको मातहतमा रहनैपर्ने बताइन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले चालू आर्थिक वर्षमा युट्युबबाट प्रसारित सामग्रीबारे २९ वटा उजुरी परेको जानकारी दिए । उनले अनुगमन गर्ने, सचेत गराउने र कारबाही गर्ने प्रक्रियाबारे बुझाउन पनि युट्युब सञ्चालकका लागि कार्यक्रम सुरु गरिएको बताए । कार्यक्रममा सहभागीले युट्युब सञ्चालन गर्दाका समस्या, विषयवस्तुको छनोट, प्रसारण र काउन्सिलको अनुगमन तथा कारबाही प्रक्रियाबारे जिज्ञासा राखेका थिए ।

काउन्सिलका आचारसंहिता अनुगमन अधिकृत महेन्द्रराज सिंहले सहजीकरण गरेको कार्यक्रममा ३० जना युट्युब सञ्चालक तथा सम्पादकको सहभागिता रहेको थियो ।

सुझावित समाचार