मलेसियामा रोहिंग्या शरणार्थी रहेको हिरासत केन्द्रमा भएको हिंसात्मक झडपपछि सयभन्दा बढी शरणार्थी हिरासतबाट भागेका छन् । भाग्ने क्रममा राजमार्गमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
उत्तरी पेराक राज्यको बिदोर अस्थायी अध्यागमन डिपोबाट भाग्नुअघि एक सय १५ रोहिंग्या आप्रवासी र अन्य १६ जनाले आफ्नो हिरासत भवनमा दंगा गरेको स्थानीय प्रहरी प्रमुख मोहम्मद नइम अस्नावीले एएफपीसँगको कुराकानीमा पुष्टि गरे।
प्रहरी र अन्य निकायका अधिकारीहरूले बेपत्ता थुनुवाहरूको खोजी गरिरहेको नइमले बताए। उनले उत्तर–दक्षिण राजमार्गमा अँध्यारोमा गुडिरहेको गाडीको ठक्करबाट एक शरणार्थीको मृत्यु भएको जानकारी दिए।
प्रहरीका अनुसार दंगा र झडपको कारणबारे अनुसन्धान भइरहेको छ। आफ्नो बौद्ध बहुल मातृभूमि म्यान्मारमा उत्पीडनको शिकार भई मुस्लिम बहुल मलेसिया, इन्डोनेसिया र बंगलादेशको शरणार्थी शिविरहरूमा रहँदै आएका छन् । यसमध्ये अधिकांश बंगलादेशमा रहेका दर्जनौँ शरणार्थी शिविरमा रहेका छन्।
गरिबीसँग जुध्दै रोजगारीको अवसरका लागि बंगलादेश र म्यान्मारबाट थाइल्यान्डसँगको खुला सिमाना भएर डुंगा चढेर मलेसिया छिर्न वा लुकिछिपी मलेसिया प्रवेश गर्न उनीहरूले महिनौँ लामो समुद्री यात्रा गर्छन्।
पक्राउ परेमा उनीहरूलाई सामान्यतया भिडभाड र फोहोर अवस्थामा रहेका हिरासत केन्द्रमा पठाइने गरेको अधिकारवादी समूहहरूले बताउने गरेका छन्। मलेसियामा एक लाखभन्दा बढी रोहिंग्या अवैध रूपमा स्थापित व्यावसायिक संस्था र अन्य कम तलबका काम गर्छन्।