४९६ वर्षपछि अयोध्यामा राम, भारत सरकारलाई देउवा र परराष्ट्रमन्त्रीको बधाई

मंगलबार, ९ माघ, २०८०
डिजिटल संस्करण

भारतको अयोध्यामा मस्जिद बनेको चार सय ९६ वर्ष (सन् १५२८)पछि निर्मित राम मन्दिरमा सोमबार रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा भएकोमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदले बधाई सन्देश दिएका छन्।

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई र साउदले भारतीय समकक्षी डा. एस. जयशंकरलाई बधाई दिएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार अयोध्यामा आयोजित विशेष समारोहमा वैदिक विधिद्वारा रामको बालस्वरूप मूर्तिको प्राणप्रतिष्ठा गरेका थिए।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई बधाई। पवित्र प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूका लागि गर्वको क्षण हो।’

परराष्ट्रमन्त्री साउदले पनि राम मूर्तिको प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूका लागि गौरवको क्षण भन्दै बधाई दिएका छन्। ‘भारतीय प्रधानमन्त्री मोदीद्वारा अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा समारोह सनातन धर्मका सबै अनुयायीहरूका लागि गौरवको क्षण हो। मर्यादा पुरुषोत्तम श्रीराम र नेपालकी छोरी माता सीता साहस, त्याग, न्याय र धार्मिकताका प्रतीक हुनुहुन्थ्यो,’ साउदले भनेका छन्, ‘उहाँहरू नै हाम्रा दुई देश नेपाल र भारतबीच गहिरो सांस्कृतिक र सभ्यताको सम्बन्धका प्रतीक हुनुहुन्छ। उहाँहरूको सदगुण र आदर्शले हामीलाई मानवताको सेवामा निरन्तर डोहोर्याउनेछन्।’

समारोहमा परराष्ट्रमन्त्रीकी पत्नी ज्योत्सना साउद सहभागी थिइन्। उनी विश्व हिन्दु महासंघ उपाध्यक्षका रूपमा सहभागी थिइन्। 

प्राणप्रतिष्ठा समारोहमा नेपालबाट सहभागीहरूमध्ये अधिकांश साधुसन्त थिए। समारोहमा श्रीराम जन्मभूति तीर्थक्षेत्र ट्रस्टले निम्ता गरेका सात हजारजना सहभागी थिए।

सुझावित समाचार