राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि उत्पादन सीधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)ले मंगलबार आयोजना गरेको ‘नेपाल सत्कार दिवस, २०२४’ लाई सम्बोधन गर्दै उनले देशको मौलिक रैथाने खाना र संस्कृतिलाई विश्वमाझ प्रवर्द्धन गर्नुपर्ने बताए ।
‘व्यवसायी आफैँले कृषि फार्म स्थापना गरेर होटेललाई चाहिने खाद्यान्न उत्पादन गर्न सक्छन् अथवा किसानसँग सम्झौता गरेर ‘फार्म टु प्लेट’को अवधारणा पनि अघि बढाउन सकिन्छ,’ राष्ट्रपति पौडेलले भने, ‘आफ्नै देशमा उत्पादित खाद्यान्न प्रवर्द्धनमा होटेल व्यवसायी लाग्नुपर्छ ।’ होटेल तथा रिसोर्टको विस्तारसँगै देशमा नयाँ गन्तव्यको विकास भएको बताउँदै उनले देशको पर्यटनलाई सफल तुल्याउन पूर्वाधार निर्माणका काम भइरहेको बताए ।
‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी आय–आर्जन र समृद्धिका आधारका रूपमा स्थापित गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘यस वर्ष १० लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’ नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा ल्याई देशमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन सके समृद्धि छिट्टै हासिल हुने उनको भनाइ थियो ।
राष्ट्रपति पौडेलले पर्यटन उद्योगको आधारस्तम्भका रूपमा रहेको होटेल क्षेत्रलाई अन्य मुलुकसरह प्राथमिकताप्राप्त उद्योगका रूपमा वर्गीकरण गरी निजी क्षेत्र र सरकारी निकायबीच समन्वय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।