खरको छानो, माटोले लिपपोत गरेर चिटिक्क पारिएको सानो घर । घरभित्र आदिवासी थारू समुदायको संस्कृति, रहनसहन झल्काउने वस्तुहरू । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवस्थलभित्र प्रदर्शनीमा राखिएका थारू समुदायको मौलिक पहिचान झल्काउने संस्कृति दर्शक आकर्षित गर्ने प्रमुख माध्यम बनेको छ ।
थारू समुदायको खानपान, सहनसहन, संस्कृतिबारे जानकारी दिन महोत्सवमा थारू गाउँ संग्रहालय प्रदर्शनीमा राखिएको छ । नमुनाका रूपमा बनाइएको थारू संग्रहालयमा थारू जातिको पहिरन, विवाहमा बेहुला बोक्ने चन्डोला, बेहुली बोक्ने डोली, गोरुगाढा, माछा मार्ने हेल्का, जाल, जाँड राख्ने टुमरा, महिलाले लगाउने परम्परागत पोसाक लेहेंगा, चोलिया, पुरुषले लगाउने धोती, पगरी, अन्नबालीको रेखदेख गर्ने अटुवालगायत सामग्री राखिएका छन् ।
महोत्सवस्थलभित्र छुट्टै बनाइएको थारू गाउँमा थारू समुदायका परम्परागत खानाका परिकार पनि राखिएका छन् । थारू जातिको पहिचान झल्कने मौलिक संस्कृतिको अवलोकनसँगै परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ । दैनिक दुई हजारसम्म अवलोकनकर्ता संग्रहालयमा थारूको मौलिक संस्कृति अवलोकनका लागि आउने गरेका थारू गाउँ प्रदर्शनीका संयोजक हेमन्त चौधरीले बताए । यो प्रदर्शनीले थारू जातिको कला, संस्कृतिको संरक्षण र संवद्र्धनमा टेवा पुगेको उनको भनाइ छ । ‘हाम्रो समुदायका कतिपय संस्कार संस्कृति लोप हुँदै गएका छन् । त्यस्ता चिजबारे नयाँ पुस्तालाई जानकारी दिन खोजिएको हो,’ उनले भने, ‘अन्य समुदायका व्यक्तिले पनि थारू समुदायको कला, संस्कृति बुझ्न पाएका छन् । यसले हाम्रो संस्कृतिको जगेर्नामा टेवा पुग्छ ।’
अवलोकनकर्ताले लेहेंगा, चोलिया, धोतीलगायत परम्परागत थारू पहिरन लगाएर फोटो खिच्ने व्यवस्थासमेत गरिएको छ । त्यस्तै, मञ्चमा थारू गीत, नृत्य आदि सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि हुने गरेका छन् । दर्शकले प्रदर्शनीस्थलको थारू गाउँमा ढिक्रीलगायत परम्परागत खानाका परिकारको स्वाद लिन सक्छन् । घोँगी, ढिक्री, सिद्रा माछा, बंगुरको मासुलगायत परिकारका व्यावसायिक स्टल राखिएका छन् । थारू समुदायका खानाका परिकारको राम्रो कारोबार भइरहेको महोत्सवको थारू प्रदर्शनी गाउँमा होटेलको स्टल सञ्चालन गरिरहेका धनीराम चौधरीले बताए ।
दैनिक २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार भइरहेको उनको भनाइ छ । थारू संस्कृति प्रदर्शन भइरहेको थारू गाउँ महोत्सवको आकर्षणको केन्द्र बनेको महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । थारू संस्कृतिको जगेर्नासँगै दर्शक आकर्षित गर्न महोत्सवमा थारू गाउँ राखिएको उनले बताए ।
सुदूरपश्चिमका मुद्दा उठाउने माध्यम बन्यो महोत्सव
१७ वर्षदेखि धनगढीमा हुँदै आएको सुदूरपश्चिम महोत्सव व्यवसायी कारोबार गर्ने तथा सुदूरपश्चिमको कला, संस्कृति प्रदर्शन गर्ने थलो मात्र नभई यहाँको विकासका मुद्दा उठाउने माध्यम पनि बनेको छ । यसपालि महोत्सव उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर आयोजकले सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बँुदे मागपत्र बुझाएको थियो ।
पहिलो महोत्सवमा २१ किलोको मालासहित २१ बुँदे माग राखेर राज्यको ध्यानाकर्षण गराइएकोमा हालसम्म ११ वटा माग पूरा भएका संघका अध्यक्ष कुँवरले बताए । ‘महोत्सवको उद्घाटनमा सरकार प्रमुख र विशिष्ट व्यक्तिलाई बोलाएर सुदूरपश्चिमको विकासमा ध्यानाकर्षण गराउँदै आएका छौँ,’ उनले भने, ‘यहाँको कला, संस्कृतिको संवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र पर्यटनलगायत सम्भावनाको उजागर गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।’
महोत्सव सुदूरपश्चिमका सम्भावनाको उजागरसँगै यहाँको विकासका लागि राज्यलाई दबाब दिने माध्यम बनेको प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले बताए । ‘कृषि, उद्योग, पर्यटनमा अथाह सम्भावना बोकेको प्रदेश हो,’ महोत्सव उद्घाटनमा उनले भने, ‘अब यी सम्भावना साकार पार्नुपर्छ ।’