जुम्लामा हिमानी कोषले बाँड्यो ५७ लाखबराबरको राहत सामग्री

आइतबार, १ पुष, २०८०
डिजिटल संस्करण

हिमानी कोषले जुम्लामा ५७ लाख रकमबराबरको राहत वितरण गरेको छ। कापी, कलम, झोला तथा पोसाक अभावकै कारण विद्यालय जानबाट वञ्चित रहेका विपन्न बालबालिका निरन्तर अध्ययनका लागि कोषले राहत सामग्री वितरण गरेको हो।

कोष पूर्वराजपरिवारकी सदस्य हिमानी शाहको नाममा खोलिएको संस्था हो। कोषले जुम्लाका सात गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न स्कुलका आधारभूत तहका बालबालिका तथा विपतबाट पीडित नागरिकलाई राहत वितरण गरेको कोषका जुम्ला जिल्ला संयोजक गोकर्ण कठायतले जानकारी दिए। 

अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका बाढीपीडित र गत कात्तिकमा तातोपानी गाउँपालिका– ५ स्थित जिउलोमा नेक ब्लास्ट रोगले धान बाली सखाप पारेपछि पीडित भएका किसानलाई समेत सहयोग गरिएले बताए। 

उनका अनुसार बाढीले क्षति पुर्‍याएका पीडित ९५ घरधुरीलाई भाँडाकुँडाको सेट र ओड्ने–ओच्छ्याउने कपडा बाँडिएको छ भने तातोपानी– ५ नम्बर वडाका पीडित किसानलाई पाँच सय २७ बोरा चामल वितरण गरिएको छ। 

हिमाली कोषले जुम्लाका आठवटै पालिकाका २५ विद्यालयमा सहयोग प्रदान गरेको छ। जसबाट दुई हजार पाँच सयभन्दा बढी विपन्न बालबालिका लाभान्वित भएका छन्। कोषले गरेको सहयोगमा न्यानो कपडा, झोला, हाइजिन किट, स्टेसनरी सामान र खानेकुरा छन्। तिला वडा नं. ६, ७, ८ र ९ वडाका एक हजार बढी  बालबालिकाले राहत पाएका छन्।

गुठीचौर गाउँपालिका– १ का वडाध्यक्ष अर्जुन महताराले भने, ‘हामीले निकै कष्ट गरेर गुठीचौरको दुर्गम चोत्र गाउँमा आवासीय विद्यालय खोलेका छौँ। जहाँ विपन्न विद्यार्थी अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘तर सर सामान जुटाउन निकै कठिन भइरहेको थियोे। हिमानी कोषले सहयोग गरेर हामीलाई निकै राहत पुगेको छ।’

कालिका आधारभूत विद्यालय हियाखोलाका विव्यस अध्यक्ष डिल्ली कामीले पनि विद्यालयका सयाैँ बालबालिकाले राहत पाएको बताए। यस्तै कोषले भैरव मावि नराकोटका दृष्टिविहीन बालबालिका, जनता मावि महत गाउँका अनाथ बालबालिका र कर्णाली मावि अनामनगरका बहिरा बालबालिकालाई झोला, कापी, कलम र न्यानो कपडा प्रदान गरेको छ।
 

सुझावित समाचार